हेटौंडाः घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरको अग्रसरतामा संयुक्त बजार अनुगमन समितिले हेटौंडा बजारका तीन व्यवसायीलाई जरिवाना गरेको छ । आज बिहान हेटौंडा बजार क्षेत्रका १० वटा खाद्यान्न पसलको अनुगमन गर्दा खरिद बिल पेश नगर्ने र उपभोक्ता मूल्यसूचि नराख्ने तीन व्यवसायीलाई जनही १५ हजार रुपैयाँका दरले जरिवाना गरिएको घरेलु तथा साना उद्योग कार्यालय मकवानपुरका प्रमुख जगन्नाथ दाहालले जानकारी दिनुभएको छ ।
घरेलु तथा साना उद्योग कार्यालयको अगुवाईमा जिल्ला प्रशासन कार्यालय, हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि सम्मिलित संयुक्त बजार अनुगमन टोलीले अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख जगन्नाथ दाहालले बताउनुभयो । उहाँका अनुसार अन्य दिन नियमित काममै व्यस्त रहनुपर्ने भएकोले आज शनिबार बिदाको दिन अनुगमन गरिएको हो । प्रमुख चाडपर्व नजिकिएसँगै बजार अनुगमनको कार्य नियमित गर्ने योजना रहेको पनि प्रमुख दाहालको भनाइ छ ।