हेटौंडाः मकवानपुरका २ विद्यार्थी सङ्गठनले संयुक्त ६ बुँदे मागसहित आज हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महत र शिक्षा विकास तथा समन्वय इकाइ मकवानपुरका प्रमुख लिलानाथ गौतमलाई ज्ञापनपत्र बुझाएका छन् । अनेरास्ववीयू मकवापनुरका संयोजक किसन घिसिङ र नेपाल विद्यार्थी संघ मकवानपुरका सभापति राजु खतिवडाले आज संयुक्त ज्ञापनपत्र दुवै जनालाई कार्यालयमै पुगेर बुझाउनुभएको हो ।
कोरोना भाइरसको महामारीले विश्वको आर्थिक, शैक्षिक स्वास्थ्य एवं विभिन्न क्षेत्रलाई सिथिल बनाएको अवस्थामा शैक्षिक क्षेत्रको घाटाको कागजहरु तेर्स्याई धेरै भन्दा धेरै शुल्क असूलौ भन्ने मनसायबाट अभिभावक संग रकम असुल्ने कार्य प्रति जिम्मेवार विद्यार्थी संगठनको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमार्फत जनाइएको छ ।
उनीहरुले गत शैक्षिक सत्र २०७६ मा शूल्क निर्धारणका लागि हेटौडा उपमहानगरपालिकाको पहलमा विद्यार्थी संगठनहरुले माग गरे अनुसार नरहेको कुरा निर्णय प्रकृयामा असन्तुष्टी रहेको बताउदै चालु शैक्षिक सत्र २०७७ मा अधिकतम सहमतीका साथ नयाँ शुल्क निर्धारण गर्नुपर्ने माग राखेका छन् ।
नेपाल सरकार शिक्षा मन्त्रालयले असोज १ गते बाट विद्यार्थी दुरशिक्षा एवं अनलाईन शिक्षा प्रभावकारी ढगंले कार्यान्वयन गर्नका लागि निशुल्क तथ्यांक उपलब्ध गराउने निर्णय अनुरुप सामुदायिक विद्यालयहरुले शिक्षाका पहुँचमा नरहेका विद्यार्थीको संख्या यकिन गरि शिक्षाको माध्यमसम्म पहुँच पुर्याउन जिम्मेवार भुमिका निमार्ण गर्न विज्ञप्तिीमा भनिएको छ । राज्यको तिनै तहलाई, निजि विद्यालयलाई पर्न गएको समस्यालाई हल गर्न आर्थिक अनुदान दिन माग गर्दै निजि शैक्षिक संस्थाले अनलाईन शिक्षा बापत उठाउने शूल्क बन्द गर्न पनि विद्यार्थी संगठनले अपिल गरेका छन् । यस्तो विषम परिस्थितीले सिर्जित आर्थिक समस्याको मानविय समिक्षा गर्दै कुनै पनि प्रकारको शुल्क नलिई पुर्ण रुपमा निशुल्क अध्यापन गराउन दुवै विद्यार्थी संगठनले जोडदार माग गरेको छ ।
कक्षा ११ को भर्ना प्रकृया अगाडी बढेको पाईएकोले ग्रेडसिटमा आधारित अकंको आधारमा मात्र भर्ना हुने परिपाटी बन्द गर्न र कक्षा ११ को अध्ययन अवधि केही महिनाको मात्र हुने हुदा अध्यापन अवधि अनुसार शूल्क लिने वातावरण निमार्ण गर्न जोडदार माग गरिएको छ । शुल्क निधारर्ण वा शूल्कसँग जोडिएको विषय उपर स्थानीय तहबाट कुनै प्रकारका निर्णय नभईन्जेल अभिभावकहरुलाई आर्थिक दवाब नदिन र दिईएको पाईएमा कडा कारवाही गर्न माग गरिएको छ । यस्तै कोठा भाडामा लिई बसेका विद्यार्थीहरुलाई कोरोनाका कारणले आर्थिक रुपमा समस्या परेको हुनाले हेटौडा उपमहानगरपालिका मार्फत घरभाडा छुट वा सहुलियत प्रदान गर्न पनि विद्यार्थी संगठनले माग गरेका छन् ।