हेटौंडाः हेटौंडा–५, सानोपोखरामा सञ्चालित फुड बैंकबाट आज ४० परिवारलाई खाद्यान्न सामाग्री वितरण गरिएको छ । आज हेटौंडा–५, पिप्ले युवा क्लब र गोल्डेन यातायात प्रालिका अध्यक्ष सुधीर थापाले ४० परिवारलाई खाद्यान्न सामाग्री हस्तान्तरण गर्नुभएकोे सानोपोखरा क्लबका सल्लाहकार विशालराज महतले जानकारी गराउनुभयो ।
खाद्यान्न हस्तान्तरण कार्यक्रममा पिप्ले युवा क्लबका अध्यक्ष सुशिल घिमीरेले अहिलेको कोभिड–१९ को विषम परिस्थितीमा सानोपोखरा क्लबले गरेको कार्यको प्रशंसा गर्दै क्लबलाई धन्यवाद समेत व्यक्त गर्नुभएको छ ।
सानोपोखरा क्लबले सञ्चालनमा ल्याएको फुड बैंकलाई भोली हेटौंडा–५, निवासी निर्माण व्यवसायी अर्जुन कर्मचार्यको पहलमा कर्मचार्य परिवारद्वारा खाद्यान्न हस्तान्तरण गर्ने कार्यक्रम तय भएको छ ।
हुनेले दिएर र नहुनेले लिएर जाने अभियानका साथ सञ्चालन ल्याएको फुड बैंकले अहिले हेटौंडा–५ बाहेकका अन्य नागरिकहरुलाई पनि खाद्यान्न वितरण गर्दै आएको छ ।
भोली मंगलबारबाट भने खाद्यान्न वितरणको स्वरुप परिवर्तन गरेर हेटौंडा–५, भित्रका वास्तविक समस्यामा परेका र दैनिक छाक टार्न समस्यामा परेको परिवारहरुको यकिन गरेर वडाभित्रका टोल विकास संस्थाहरुसँग समन्वय गरेर खाद्यान्न वितरण गरिने भएको छ ।
दैनिक खाद्यान्न सामाग्री लिनेको संख्या वृद्धि भइरहको तथा वास्तविक काम गर्न नसक्ने बृद्धाबृद्ध, अपाङ्ग व्यक्तिहरु पछि पर्न सक्ने भन्दै क्लबको वैठकले खाद्यान्न वितरणको स्वरुप परिर्वतन गर्ने निर्णय गरेको क्लबका सल्लाहाकार महतले बताउनुभयो ।