हेटौंडाः मकवानपुरको क्रियाशील साहित्यिक संस्था झरना साहित्यिक परिवारले भर्चुअल माध्यमबाट २५६ औं साहित्यक शृङ्खलाको आयोजना गरेको छ । शनिबार झरना साहित्यिक परिवार मकवानपुरका उपाध्यक्ष चिरञ्जीवी लामिछानेको सभाध्यक्षतामा भएको कार्यक्रममा झरनाका संस्थापक अध्यक्ष रमेशमोहन अधिकारीको प्रमुख आतिथ्य रहेको थियो ।
कार्यक्रममा सहभागी अधिकांश साहित्यकारहरुले बकैया गाउँपालिकाले झरनालाई जग्गा उपलब्ध गराएकोमा झरनाले मात्रै नभएर मकवानपुरे साहित्यले नै सहयोग प्राप्त गरेको भन्दै बकैया गाउँपालिकाका अध्यक्ष दामोदर खनाल, उपाध्यक्ष सरला बोलखे लगायत सम्पूर्ण गाउँपालिका परिवारलाई धन्यावाद दिएका थिए । कार्यक्रममा साहित्यकारहरुले समसामयिक विषयमा रहेर कविता, गजल, मुक्तक लगायत वाचन गरेका थिए । पर्दा पछाडिका कवि र कवतालाई अवसर दिने गरी मकवानपुर जिल्लालाई मात्रै केन्द्रित गरिएको कार्यक्रममा मकवानपुरका साहित्यकारहरु र अन्य संघ संस्थाका गरी २२ जनाको सहभागिता रहेको थियो ।
कार्यक्रममा झरनाका अध्यक्ष दीपक गौतम, साहित्य संगम मकवानपुरका अध्यक्ष निमेष निखिल, साहित्यकारहरु शान्ति प्रियबन्दना, जनाद्र्धन खनाल, ह्यग्रीब आचार्य, माधव पोखरेल, देवराज तिवारी, सुवास खनाल, रमेश प्रसाद लामिछाने लगायतको सहभागिता रहेको थियो । झरनाका सचिव मसान उपासकले कार्यक्रम सञ्चालन गर्नुभएको थियो ।