आज सेप्टेम्बर १० अर्थात विश्व आत्महत्या रोकथाम दिवस । आत्महत्या व्यक्तिले आफैंमाथि गर्ने एउटा गम्भीर अपराध हो । आत्महत्याको विविध कारणहरु छन् । समाजअनुसार आत्महत्याका कारण छन् । एकजना व्यक्तिले आत्महत्या गर्दा ती व्यक्तिसँग सम्बन्धित अनगिन्ती व्यक्तिको आत्माले पनि दुख पाउँछन् । पछिल्लो समय कोरोना भाइरस रोकथामका लागि सरकारले आव्हान गरेको लकडाउन र जारी निषेधाज्ञाको समयमा आत्महत्याका घटना बढ्दो क्रममा रहेको बताइन्छ । मकवानपुरमा पनि आत्महत्याका घटना बढ्दो क्रममा छ । आज विश्व आत्महत्या रोकथाम दिवसको सन्दर्भमा जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक ईन्द्रबहादुर रानासँग समाज संवाददाता संगी लामाले गर्नुभएको कुराकानीः
समाजः मकवानपुरमा आत्महत्याका घटना वर्षिक रुपमा कति रहेको छ ?
रानाः आत्महत्या वास्तवमा भन्ने हो भने अहिले सबै ठाउँमा समाज एउटा समस्याको रुपमा देखापरेको छ । यो विशेषगरी जिल्ला प्रहरी कार्यालय मकवानपुरमा मुद्दा दर्ता भएको हिसाबले हेर्ने हो भन्ने मकवानपुर जिल्लामा गत आर्थिक २०७६/२०७७ मा हामीसित जम्मा १ सय ४५ वटा मुद्दाहरु दर्ता भएको अवस्था छ । आत्महत्याबाट मृत्यु हुनेको संख्या १ सय ४५ रहेको छ ।
समाजः प्रहरीले अनुसन्धान गर्दा के कस्ता कारणहरुले आत्महत्या बढी हुने गरेको पाउनुभएको छ ?
रानाः आत्महत्यामा हामीले हेर्दाखेरी विशेषगरी लागूऔषधको नाशाको तालमा विभिन्न नाशालु पदार्थहरु प्रयोग गरेको अवस्थामा हामी पाउँछौं । त्यसैगरी विभिन्न किसिमका आर्थिक कारणले गर्दा मानिसहरु आत्महत्यामा संलग्न देखेका छौं । त्यसैगरी डिप्रेसनका कारणले गर्दा आत्महत्या गर्ने गरेको देखिएको छ ।
समाजः अहिले भइरहेको आत्महत्याका घटना रोक्न के कस्ता पहलकदमी चाल्नु पर्ने आवश्यकता देख्नुहुन्छ ?
रानाः यो आत्महत्या हामीले रोक्न सम्भव छ । त्यसकारणले हामीले विभिन्न किसिमका जनचेतनामूलक कार्यक्रमहरु पनि समाजमा लिएर गएका छौं । सामुदाय–प्रहरी साझेदारी अन्तर्गत हामीले आत्महत्याबारे जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेका छौं । आत्महत्याका घटनाको रोकथामका लागि विशेषगरी हामीले बहुआयामिक तरिकाले सोच्नु पर्ने हुन्छ । प्रहरीको एक्लो प्रयासले यो सम्भव छैन । तर पनि हाम्रो तर्फबाट सम्पूर्ण कोसिसहरु गरेका छौं । जनचेतना फैलाउने, हामीले सामुदाय–प्रहरी साझेदारी अन्तर्गत धेरै गरेका छौं । विशेषगरी यसमा के देखिन्छ भन्दा समुदायका व्यक्तिहरु, समाजका व्यक्तिहरु, विशेषगरी परिवारकै व्यक्तिहरुको यसमा ठूलो भूमिका हुन्छ । किनभने आत्महत्या विशेषगरी युवा उमेरदेखि ३० वर्षसम्मका व्यक्तिहरु संलग्न भएको तथ्याङ्कमा देखिन्छ ।
त्यो सन्दर्भमा जीवनका नयाँ नयाँ अनुभवहरु त्यो समय हुने, उनीहरु विभिन्न परीक्षामा सहभागी हुनुपर्ने त्यस कारणले उनीहरुलाई मानसिक तनाव धेरै आउने त्यही तनावको कारणले पनि आत्महत्या रोजेकोे हुनसक्ने देखिन्छ । त्यो सम्बन्धमा रोकथामको लागि विशेषगरी परिवारका सदस्यहरुले उसको पहिलाको क्रियाकलाप र अहिलेको क्रियाकलाप केही फरक हुन्छ । त्यो कुराहरु ख्याल गर्नुपर्ने हुन्छ । पहिलाको व्यवहार भन्दा फरक देखाउँदै छन् भने त्यो अवस्थामा हामीले त्यसको हेरचाह गर्ने, एक्लै नछाड्ने जस्ता कुराहरु ख्याल गर्नुपर्ने हुन्छ । यी कुराहरु ख्याल गर्नुभयो भने केही हदसम्म आत्महत्यालाई कम गर्न सक्छौं ।
समाजः परिवारका सदस्यले आत्महत्या गरेका परिवारबाट के कस्तो प्रतिक्रिया पाउनुभएको छ । आत्महत्या गर्नबाट रोक्न सकिन्थ्यो की ?
रानाः आत्महत्या रोकिने चिज हो । त्यस कारणले आत्महत्या रोक्न सम्भव छ । हामीले विभिन्न कार्यक्रमहरु मार्फत भन्दै आइरहेका छौं । यसका व्यक्तिहरुले उहाँको परिवार जो चाही आत्महत्या गर्नुभएको छ उहाँको परिवारको प्रतिक्रियामा त्यो सम्बन्धमा परिवारका सदस्यहरु मार्फत हामीले बुझ्ने क्रममा केहिलेकाहीँ उहाँहरुले डिप्रेसनको औषधी प्रयोग गर्दै हुनुहुन्थ्यो भन्ने किसिमका कुराहरु आउँछ । कहिलेकाहीँ उहाँहरु केही समयदेखि फरक व्यवहार गर्ने गरेको जस्ता कुराहरु उहाँहरु परिवार मार्फत खुबै आएको छ ।