प्रताप विष्ट वरिष्ठ पत्रकार

शुक्रबार ५८ औं रेडक्रसको स्थापना दिवस मनाइएको छ । यसै सन्दर्भमा रहेर मकवानपुर जिल्लामा यो दिवस कसरी मनाइयो, रेडक्रस स्थापना किन भयो, यसको उद्देश्य, महत्व के छ, साथै रेडक्रसको केन्द्रीय समिति विघटन गरेर नयाँ तदर्थ समिति गठन भएको छ । यसले गर्ने काम के हो भन्ने लगायतका सन्दर्भमा रहेर नेपाल रेडक्रसको हालै गठित तदर्थ समितिका सदस्य प्रताप विष्टसँग समाज संवाददाता सुसन लामिछोनले गर्नुभएको कुराकानीः

समाजः ५८ औं रेडक्रस स्थापना दिवसको अवसरमा मकवानपुरमा के कस्ता कार्यक्रमहरु भए ?
विष्टः नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरको पहलमा शनिबार मनहरीमा बृहत्त रक्तदान कार्यक्रम सम्पन्न भयो । त्यस्तै बिहीबार हेटौंडा–३ को वडा कार्यालयले क्वारेन्टिन स्थापना गरेको स्थानमा खाद्यान्न सामाग्रीहरु सहयोग गरिएको छ । शुक्रबार हटौंडा–६ गौरिटार आइसोलेसनमा फलफुलहरु र महिलाहरुललाई आवश्यक पर्ने हाइजेनिक किट वितरण गरियो । यस्तै शुक्रबार नै रेडक्रसको भवनमा जा हनेरी ड्यूनाको तस्वीरमा माल्र्यापण गरेर रेडक्रसको स्थापना दिवस मकवानपुरमा मनाएका छौं ।

समाजः रेडक्रस स्थापना हुनुको उद्देश्य र महत्व के छन् ?
विष्टः रेडक्रसको स्थापना र महत्व के हो भन्दा विशेषगरी द्वन्द्व र बाढीपहिरो, दैविक प्रकोप अथवा प्राकृतिक विपदको बेलामा उद्दारको कार्य गर्नु नै रेडक्रसको भूमिका हो । हनेरीले त्यही विपदमा परेकाहरुको उद्दार गर्नको निम्ती रेडक्रस स्थापना गर्नुभएको हो । त्यही क्रममा रेडक्रस यहाँसम्म आइपुगेको छ । रेडक्रसको महत्वमा संसारमा सधै प्रकोप पर्छन् । मानिसहरु सधै पीडामा रहन्छन् तिनीहरुलाई उद्दार गर्नुपर्छ । अहिले खासगरी यो पटक चाहि स्थापना दिवसको अवसरमा ताली पिट्ने सन्देशका साथ विश्वभर रेडक्रसको स्थापना दिवस मनाइएको छ । यो ताली कोरोनाको बेला स्वास्थ्यकर्मीहरु, सुरक्षाकर्मीहरु, स्वयम्सेवकहरु जोजो कोरोना नियन्त्रणमा लागेको छन्, सङ्क्रमितहरुको उपचारमा लाग्नु भएको छ । उहाँहरुको मनोबल बढाउनका लागि यो विश्वभरीमा ताली बजाएर सम्मान गरेका छौं । हामीले पनि ताली बजाएर स्वास्थ्यकर्मीहरुको हौसला बढाएका छौं । रेडक्रसको उद्देश्य भनेको नै द्वन्द्व र पीडा भएकाहरुको उद्दार गर्ने, पीडामा सहयोगको मलम लागउने कार्य नै हो ।

समाजः तपाई अहिले रेडक्रसको तदर्थ समितिमा पनि हुनुहुन्छ । अहिलेको तदर्थ समितिले के कस्तो कार्य गर्छ ।
विष्टः हाम्रो पहिलाको समितिले गर्ने जस्तो कार्य हुन्न । अहिलेको तदर्थ समिति रेडक्रसले समावेशी विधान बनाउने त्यसपछि रेडक्रसको निर्वाचन गराउने कार्य गर्ने हो । तीन महिनामा हामीले त्यो काम गर्ने भनिएको छ । तीन महिनामा त्यो सम्भावना देखिँदैन । यो कोरोनाको कारणले गर्दा समय बढाइन्छ या त्यो के गर्छ मलाई थाहा छैन । सरकारले म्याद थप्ने विषयमा छलफल हुँदैछ । तीन महिनामा कोरोनाको कारणले अथवा कुनै काम गर्ने अवस्था छैन । आन्तरिक रुपमा हुने काम मात्रै भएका छन् । अहिलेको तदर्थ रेडक्रस समितिको मूल कार्य ऐन बनाउने संघीयतामैत्री ऐन बनाउने र निर्वाचन गर्ने हो ।

समाजः सरकारले नै हस्तक्षेप गर्नुपर्ने गरी रेडक्रसमा के कस्ता समस्या, किन भएको देख्नुहुन्छ ?
विष्टः रेडक्रस सेवा गर्ने संस्था हो । यो संस्था द्वन्द्वपीडित, असहायहरुको सहयोग गर्न तत्पर हुनुपर्ने हो । पूर्व समितिमा केही समस्या देखिएको भएर पनि होला । धेरै कुराहरु बाहिरिएका पनि छन् ।

समाजः तदर्थ समितिले अहिलेसम्म के–के गर्‍यो ?
विष्टः अहिले खासै काम भएको छैन । जारी लकडाउन र निषेधाज्ञा भएकोले काम अगाडि बढाउन सकिएको छैन । हामीलाई सरकारले टास्क नै दिएको छ । ३ महिनामा यो यो काम गर्ने भनेर । तर अहिलेको अवस्थामा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएकोले त्यो अगाडि बढ्न नसकेको हो । अन्य आन्तरिक कार्य जारी छ ।