हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेश मातहतका अस्पताल नभएका ५ जिल्लामा प्रदेशस्तरको अस्पताल बनाउन स्थानीय तह मातहत रहेका स्वास्थ्य संस्था छनोट गरेको छ । प्रदेश सरकारको बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सम्बन्धित स्थानीय तहबाट सिफारिस भई आएका ५ अस्पतालहरुलाई स्तरोन्नति गर्न छनोट गर्ने निर्णय गरेको हो ।
प्रदेशले दोलखाको चरीकोट अस्पताल, काभ्रेपलाञ्चोकको मेथिनकोट अस्पताल, ललितपुरको बज्रबाराही चापागाउँ अस्पताल, चितवनको बकुलर रत्ननगर अस्पताल र काठमाडौंको टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई प्रदेश मातहतको अस्पतालको रुपमा स्तरोन्नति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिनुभयो । हाल बागमती प्रदेशको १३ जिल्ला मध्ये ८ जिल्लामा मात्र प्रदेश मातहत रहेका अस्पतालहरु सञ्चालनमा रहेका छन् । प्रदेशभित्रका सबै जिल्लामा प्रदेश अस्पताल स्थापना गरी कोभिड–१९ लगायतका सङ्क्रमण रोग तथा अन्य रोगहरुको सहजतापूर्वक उपचार गर्न आवश्यक देखिएको उहाँले जानकारी दिनुभयो । प्रादेशिक अस्पताल नभएका जिल्लामा स्थानीय तहको सहमतिमा स्थानीय स्वास्थ्य संस्थालाई स्तरोन्नति गरी प्रदेश अस्पतालको रुपमा विकास गरिने सरकारले बजेटमा उल्लेख गरेको थियो ।
यसैगरी कोरोना सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि प्रत्यक्ष निर्वाचित सांसदको नेतृत्वमा, समानुपातिक सांसद र स्थानीय तहका प्रमुख उपप्रमुखहरु रहने गरी अनुगमन, सहजीकरण र समन्वय गर्ने जिम्मेवारी दिने निर्णय गरेको पनि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले बताउनुभयो । यस्तै प्रदेश मातहतमा रहेका अस्पतालहरुलाई स्वास्थ्य सामग्री, उपकरण, तथा भवन निर्माणका लागि १७ करोड रकम निकासा गर्ने पनि निर्णय गरेको उहाँले जानकारी दिनुभयो ।