हेटौंडाः हेटौंडा औद्योगिक क्षेत्रका १६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । बिहीबारसम्ममा १६ जनामा कोरोना पुष्टि भएको उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्म बर्जर पेन्टस्का ११ जना, एसिएन पेन्टस्का १ जना तथा एन्टार्टिक बिस्कुटमा कार्यरत ४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

औद्योगिक क्षेत्रमा अहिले अधिकांश उद्योग सञ्चालनमा रहेको छ । उद्योगहरुले अहिले होटल क्वारेन्टिन, उद्योगमै केही कर्मचारी बस्ने व्यवस्थापन गरेको छ । सङ्क्रमितहरु अहिले केही होटल आइसोलेसन र गौरिटार आइसोलेसनमा बसेको उहाँले जानकारी दिनुभयो । प्रशासनले कामदारहरुलाई आवतजावत गर्न दिएका कारण अहिले सबै उद्योगहरु सञ्चालनमा रहेको उहाँले बताउनुभयो ।

उद्योगले बजार पूर्णरुपमा नखुलेसम्म पूर्ण क्षमताको उत्पादन गर्न नसक्ने उहाँले बताउनुभयो । उहाँका अनुसार अहिले हेटौंडा औद्योगिक क्षेत्रका प्राविधिक तथा धेरै कामदार जिल्ला बाहिरसँगै देशबाहिर पनि रहेका छन् । केही कामदार स्थानीय सरकारको सिफारिसमा ल्याइए पनि धेरै आउन बाँकी रहेको उहाँको भनाइ छ ।