हेटौंडा : आन्तरिक राजश्व कार्यालय हेटौंडामा राजश्व संकलनमा वृद्धि भएको छ । अघिल्लो वर्ष चैत्रसम्मको राजश्वको तुलनामा यस वर्षको चैत्रसम्मको राजश्व बढी संकलन गरेको हो ।
कार्यालयले २०८१ चैत्र महिनामा कुल लक्ष्यको ७० प्रतिशत अर्थात ८८ करोड रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा ६२ करोड मात्र संकलन गर्न सकेको थियो । २०८२ चैत्र महिनामा लक्ष्यको ९७ प्रतिशत अर्थात ७८ करोड लक्ष्य राखिएकोमा ७५ करोड रुपैयाँ राजश्व संकलन भएको आन्तरिक राजश्व कार्यालय हेटौंडाले जनाएको छ । यस्तै अघिल्लो आर्थिक वर्षको ९ महिना अर्थात साउनदेखि चैत्रसम्ममा पनि लक्ष्यको ८० प्रतिशत राजश्व संकलन भएको मा यस वर्ष ८४ प्रतिशत राजश्व संकलन भएको कार्यालयका प्रमुख करअधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिनुभएको छ ।
आर्थिक वर्ष २०८१/८२ को चैत्रसम्म ६ अर्ब ४ करोड राजश्व संकलन गर्ने लक्ष्यमा ४ अर्ब ८७ करोड रुपैयाँ राजश्व असुली भएकोमा चालु आर्थिक वर्ष २०८२/८३ को चैत मसान्तसम्ममा ६ अर्ब राजश्व संकलन गर्ने लक्ष्य राखिएकोमा ५ अर्ब १२ करोड रुपैयाँ राजश्व असुली भएको उहाँले जानकारी दिनुभयो । अघिल्लो वर्षमा भन्दा मूल्य अभिवृद्धि करमा समेत वृद्धि भएको छ । अघिल्लो वर्ष लक्ष्यको ६६ प्रतिशत मात्र मूल्य अभिवृद्धि कर (भ्याट) असुली भएकोमा यस वर्षको चैत्रसम्ममा ८७ प्रतिशत असुली भएको समेत कार्यालयले जनाएको छ । यस्तै आयकर पनि अघिल्लो वर्ष ७४ प्रतिशत रहेकोमा यस वर्ष ७८ प्रतिशत संकलन भएको छ ।











