२०१९ डिसेम्बर ३१ मा चीनको वुहान सहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) ले अहिले विश्व नै आक्रान्त पारेको छ । केही समय अगाडि चीन, बेलायत, अमेरिकालगायतका देशहरूमा यसको प्रकोप बढिरहेको बेलामा नेपालमा यसले यति भयावह रूप लिएको थिएन र यस्तो रूप लिन्छ भन्नेमा कसैको अनुमान पनि थिएन । प्रधानमन्त्री र अन्य मन्त्रीहरूले पनि नेपालीको रोग प्रतिरोधात्मक क्षमता (इम्युनिटी पावर) बलियो छ त्यसैले नेपालीलाई यसले त्यति धेरै सताउन सक्दैन भन्ने जस्ता समाचार सम्प्रेषण गरेका थिए र पनि थप सुरक्षाका लागि भनी नेपालमा पनि चार महिना लकडाउन गरिएको थियो जुन आवश्यक थियो पनि ।
चार महिनासम्मको लकडाउनले सो समयमा सङ्क्रमण धेरै हदसम्म रोकियो तर त्यति लामो समयसम्मको लकडाउनले दैनिक ज्यालादारीमा जीविकोपार्जन गर्ने को रोजीरोटी नै गुमेको थियो । मानिसलाई रोगले भन्दा शोकले मरिन्छ भन्ने कुराले बढी चिन्तित गराएको थियो । कयौंमा भोकले मर्नु पर्ने अवस्था नपरोस् भन्ने मनसायले र नेपालमा सङ्क्रमणकोदर पनि उच्च जोखिममा नरहेकाले साउनबाट नेपालमा लकडाउन खुकुलो गराइयो । जुन अत्यन्तै आवश्यक पनि भइसकेको थियो । गरिखानेको बाटो खुल्यो, जसले गर्दा उनीहरूमा केही आश पनि पलाएको थियो ।
नेपालमा लकडाउन खुकुलो भएको समयमा भारतमा सङ्क्रमणले तीव्र रूप लिइरहेको थियो । नेपालमा लकडाउन खुकुलो भएको अवसर पारेर त्यसै समयमा भारतबाट नेपाल लुकीछिपी प्रवेश गर्ने मानिसहरूको सङ्ख्या दिनानुदिन बढिरहेको थियो । नेपालको कमजोरीका कारण नेपालले आफ्नो सीमामा कडा सुरक्षा गर्न सकिरहेको थिएन । सोही अवसर पारी भारतको पटना लगायतको सहरबाट सयौं मजदुरहरू वीरगन्ज र जनकपुर लगायतका सहरमा प्रवेश गरे । जो लुकीछिपी आएका कारण तिनीहरूको परीक्षण गराउने सम्भावना भएन अनि तिनै सङ्क्रमित व्यक्तिहरूका कारणले गर्दा अहिले नेपाल सङ्क्रमणको उच्च जोखिममा रहेको छ । जो व्यक्ति सङ्क्रमित थिए तिनीहरू नै गाउँ, टोल, सहर सबैतिर लुकीछिपी प्रवेश गरिसकेको कारण कोभिड–१९ ले समुदायमा प्रवेश गरिसकेको छ । त्यसैले अहिले लकडाउन, सटडाउन जे–जे गरे पनि यसले कोभिड त्यति सजिलोसँग रोकिने अवस्था देखिँदैन । उल्टै अझै जटिल अवस्थाको सृजना हुँदै जाने कुरामा कसैको दुईमत छैन । यता अझै गम्भीर र चासोको विषय भनेको सरकारले स्वास्थ्यकर्मीको अभावका कारण करारमा समेत कर्मचारी नियुक्ति गर्ने तयारी गर्दैछ भने उता कार्यरत स्वास्थ्यकर्मीको भत्ता १५० प्रतिशतसम्म पुर्याउने कुराले ठूलै चर्चा पाए को सुनिन्छ ।
अहिलेको सोचनीय विषय भनेको यतिखेर सामान्य रोग लागेका जो कोहीले पनि उपचार पाइरहेका छैनन् । अहिले जे जस्तो बिरामी भएको भए पनि सर्वसाधारणले उपचार पाइरहेका छैनन् र सामान्य अवस्थामा जँचाउन जाँदा धेरैजसो अस्पतालले सामान्य रोगलाई पनि कोभिड–१९ को आशङ्कामा बिरामीलाई चेक जाँच नै नगरी फर्काएको अवस्था हाम्रो सामु छर्लङ्ग छ । सरकारले स्वास्थ्यकर्मीलाई १५० प्रतिशतसम्म भत्ता उपलब्ध गराउँदै छ भनी भत्ताको लोभमा आफूलाई सच्चा स्वास्थ्यकर्मी देखाउन कतिपय हेल्थपोष्टका कर्मचारीले स्वास्थ्यकर्मीको नाताले भत्ताका लागि १०–५ अफिस चाहीँ खोल्ने तर बिरामीलाई हेर्दै नहेरी अहिले यहाँ पर्याप्त ओखती नभएकाले तपाईंहरू बिरामी पर्नु भयो भने तुरुन्तै अस्पताल जानुहोला । यता र उता गर्दा ज्यान जोखिममा पर्न सक्छ ।
अहिलेको बेला पनि त्यस्तै छ भनी बिरामीलाई सन्देश छोड्ने र टाढैबाट फर्काउने गरेका घटना जोकोहीसँग ताजै छन् । यस्तो सबै नै स्वास्थ्यकर्मीबाट भएको छ भन्ने कुराचाहीँ साँचो होइन । अहिलेको यस्तो विषम परिस्थितिमा पनि कतिपय स्वास्थ्यकर्मीले आफ्नो ज्यानै जोखिममा राखेर, घर, परिवार, बालबच्चा नभनी अहोरात्र बिरामीको उपचारमा खटिरहेका छन् । सरकारले स्वास्थ्यकर्मीलाई दिने भनिएको भत्ता क–कसलाई हो वा स्वास्थ्यकर्मी नाम भएका सबैलाई ? भन्ने सबैको चासोको विषय बनेको देखिन्छ । यसको जवाफ धेरैले खोजिरहेका छन् । यतिखेर अहोरात्र बिरामीको उपचारमा खटेका स्वास्थ्यकर्मी र भत्ताका लागि अफिस सञ्चालन गर्ने स्वास्थ्यकर्मीको मूल्याङ्कन एउटै भयो भने काम गर्नेमा कति न्याय होला ?
अन्त्यमा विश्वमा नै आतङ्क मच्चाइसकेको कोभिड–१९ ले नेपालमा पनि निक्कै प्रभाव जमाइसकेको छ । त्यसैले यस्तो परिस्थितिमा ज्यानै जोखिममा राखेर बिरामीको उपचारमा अहोरात्र निस्वार्थ, निष्पक्ष रूपमा खटिएका स्वास्थ्यकर्मीप्रति सबैले सम्मान गर्नैपर्छ । केही व्यक्तिबाट भएको गल्ती सबै व्यक्तिमा थोपर्दै साँच्चिकै काममा खटिएका स्वास्थ्यकर्मीको मनोवल गिराउने काम होइन । उनीहरूको मनोबल उच्च बनाउने काम गर्नुपर्छ । स्वास्थ्यकर्मी भनेका बिरामीका लागि देउता समान हुन् त्यसैले असल स्वास्थ्यकर्मी पहिचान गरी उनीहरूको मनोबल उच्च गराउँदै हिम्मत प्रदान गर्नुपर्छ । निष्पक्ष न्यायका लागि सम्बन्धित व्यक्तिहरू को ध्यान जाओस् । धन्यवाद ।