१. गरे त हुने रैछ । यसवर्षको एसईईले प्रमाणित गरेर देखाईदियो । तयारी लामो पनि होईन । चैत्र १९ गतेबाट परीक्षा सुरु हुँदै थियो । चैत्र १७ गते अर्थात परीक्षाको २ दिनअघि परीक्षा संचालन, व्यवस्थापन र उत्तरपुस्तिका परीक्षण निर्देशिका जारी गरेर पनि काम हुने रहेछ । तत्कालिन एसएलसीबाटै फलामे ढोकाको उपनाम बोकेको हालको एसईईमा यस पटक परिवर्तन आएको देखियो । जन्ती झैं लावालस्कर देखिने अनुगमनका सवालमा प्रत्येक वर्ष यो काम नगरौं भन्दा कानमा बतास लागेन । यस वर्ष भने सुनुवाई भएछ । यो एक सकारात्मक संकेत हो । जुन परीक्षा केन्द्रमा जाँच भएको छ, सोहि केन्द्रमा केन्द्राध्यक्षको जिम्मेवारीमा उत्तरपुस्तिका परीक्षण गरिएको छ । यदि उक्त स्थलमा परीक्षण सम्भव नभए शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा उत्तरपुस्तिका परीक्षण गर्न सकिने गरी तोकिएको छ । आवश्यकता अनुसार सहजीकरणको अभिभारा जिल्लास्थित इकाईलाई प्रदान गरिएको छ । यसरी परीक्षणलाई दुईवटा विकल्पमा व्यवस्था गरी परीक्षा सकिएको ३ दिन भित्र परीक्षा नियन्त्रण कार्यालयमा प्राप्ताङ्क पेश गरिसक्न पनि भनिएको छ । यो परीक्षाको नतिजा एक महिना भित्र प्रकाशन गर्ने भनिएको छ । यसो गर्दा कक्षा १२ सम्मकै शैक्षिक सत्रलाई एकैसाथ वैशाखबाटै सुरु गर्न खोजिएको देखिन्छ । कक्षा १२ सम्मलाई विद्यालय शिक्षा भनेपछि शैक्षिक वर्ष पनि मिलाउने अभ्यास हुन सक्छ ।
२. परीक्षा केन्द्रबाट उत्तरपुस्तिका प्रहरी कार्यालयमा लैजाने काम भएन । प्रहरीकोमा जम्मा भएको उत्तरपुस्तिका गोप्य रुपमा तोकिएको जिल्ला र परीक्षण केन्द्रमा पनि लगिएन । कोडिङ र डिकोडिङ पनि अनिवार्य गरिएन । परीक्षण केन्द्रमा महिना दिनसम्म उत्तरपुस्तिका जाँच्ने मेला पनि भएन । नतिजाका लागि ३ महिना कुर्नु नपर्ने भनिएको छ । हत्तपत्तको काम लत्तपत्त भने झैं सुधार गर्नुपर्ने कुराहरु पनि पर्याप्त सतहमा आएका छन् । हरेक सिक्काका दुईपाटा भने जस्तै यो शैलीका पनि नकारात्मक पक्षहरु स्पष्टै देखिए । परीक्षा केन्द्र रहेको विद्यालयमा नै परीक्षण हुँदा अमूक विद्यालयको अमूक विषयको कपि यो शिक्षकले परीक्षण गरिरहेको भन्ने गोप्यता छैन । यो केन्द्रमा यो विषय शिक्षक फलानो हो र यत्ति जना छन् भन्ने छर्लङ्घै छ । अनि परीक्षक चिन्न कुनै कठिन छैन ।
सम्बन्धित परीक्षकलाई प्रभावित पार्ने काम पनि नभएका होईनन् । यो अर्को विश्लेषणको मसिनो तर महत्वपूर्ण विषय हो । पहिले त पढाउने शिक्षकलाई जानकारी हुन्छ अनि परीक्षक सम्परीक्षकलाई प्रभावित पार्न कठिन छैन । आफ्नो विषयमा बढी विद्यार्थी उत्तीर्ण गराउने ईच्छा सबै शिक्षकमा हुन्छ नै । नतिजा उच्च बनाएर खुशियाली मनाउने कार्यक्रम यो वर्ष अलि धेरै देख्न सकिने अवस्था टड्कारो बनेको छ । विगतमा कोरोनाका कारणले विद्यालयकै तजबिजमा भएको एसईई नतिजा स्मरण योग्य बनेकै हो । यस पटक सो प्रवृत्ति नदोहोरिए हुन्थ्यो । विद्यार्थीको वास्तविक अवस्था बाहिर आउनु पर्छ भन्नेमा कसैको बिमति रहँदैंन ।
३. यो एसईईले गरौं भने सकिन्छ भन्ने सन्देश दिएको छ । गर्ने शिक्षकले नै हो भन्ने पनि प्रमाणित भएको छ । अब ईमान्दारिता र पेशागत मर्यादाका सवालहरु सतहमा आउन सक्छन् । कामै नगरी कमजोरीका छिद्रहरु देखिँदैनन् । प्रत्येक कमजोरीबाट शिक्षा लिँदै सो सच्याउने र प्रभावकारी बनाउने गरिएमा अपेक्षित गन्तव्य टाढा नहुन सक्छ । एसईईलाई प्रदेशस्तरबाट संचालन व्यवस्थापन गर्ने भनिए पनि व्यवहारमा देखिएन । यो वर्षको शैली देख्दा आगामी दिनमा एसईई विद्यालयमै सीमित रहने संकेत गरेको छ । अझै राष्ट्रिय परीक्षा बोर्ड कक्षा १० र कक्षा १२ का दुई संरचना मर्ज हुन नसक्नु अर्को दुर्भाग्य भन्नै पर्दछ । विद्यार्थीको सही मूल्याङ्कनमा कहिँ कतै हेल्चेक्रयाईँ हुनै हुँदैन ।
शिक्षक मात्र नभई शिक्षा प्रशासन र सरोकारवाला वर्ग सजग र चनाखो बन्नैपर्छ । धेरै विद्यार्थी पास हुनुमात्र शिक्षाको उद्देश्य होईन । तोकिएको शैक्षिक उपलब्धि हासिल भएमात्र स्तरीय शिक्षा भनिन्छ र स्तरीय शिक्षाबाटै दक्ष जनशक्ति उत्पादन हुने तथ्यमा दुईमत नहोला । हातमा बोकेको शिक्षाको सर्टिफिकेटले सम्बन्धित विद्यार्थीलाई गिज्याउने दिन नआओस् भन्नेमा सतर्क हुनुपर्ला नि । हाल कक्षा १२ सकेर बैदेशिक रोजगारीका लागि बाहिर जाने विद्यार्थीलाई स्वदेशमा नै रोकेर उनीहरुको सीपलाई उत्पादनमा जोड्नेतर्फ कुरा मात्र होइन, व्यवहारमा गरेर देखाउन बिलम्व भइसकेको छ । परीक्षा नतिजासँग जोडिन्छ भने नतिजाको स्तरले विद्यार्थीको शैक्षिक उपलब्धि देखाउँछ ।
४. विद्यार्थीको मूल्याङ्कनलाई शिक्षाको महत्वपूर्ण अंग मानिएको छ । परीक्षा मूल्याङ्कनको एक औजार हो । विद्यालय तहमा फिनल्याण्ड लगायत कतिपय मुलुकमा परीक्षा लिइँदैन । हाम्रो मुलुकमा पनि कक्षा ३ सम्म लिखित परीक्षा नलिने भनिएको थियो । हालै कक्षा ५ सम्म लिखित परीक्षा नहुने भनिएको छ । कक्षा ७ सम्म उदार कक्षोन्नतिका अवधारणा पनि आएकै हो । यी सैद्धान्तिक कुराहरुसँग विद्यार्थीको निरन्तर मूल्याङ्कन जोडिएको छ । यो व्यवहारमा सहजै देखिने परिवर्तनका अतिरिक्त शिक्षण सिकाईका सुनाई, बोलाई, पढाई र लेखाई यी चारै सीपहरुको दैनिक मूल्याङ्कनको अभिलेखीकरणबाट समग्र नतिजा प्रदान गर्ने नै यसको अन्तर्य हुनुपर्छ ।
परीक्षालाई भय र हाउगुजीबाट मुक्त गरिनै पथ्र्यो । यो अभियानमा यस पटकको एसईई एक पाईला अगाडि बढेको स्विकार्नै पर्दछ । शासकहरु फेरिने र व्यवस्था बदलिने तर व्यवहारमा भने उहि बिरालो बाँध्ने संस्कारमा पहिरो जानै जरुरी छ । अन्यथा परिवर्तनको आभास कहिले पाउने हो भन्ने सवाल उठ्छ नै । सँगै, परिवर्तन भनेको अग्रगामी र प्रगतिशील हुनैपर्छ भन्नेमा शंका छैन । छिटो, छरितो, चुस्त, दुरुस्तका नाममा नयाँपन प्रदान गर्दा रिक्सा बिगारेर ठेला बनाउने होइन, अटो–रिक्सा बनाउनु पर्छ । शारीरिक बलले होइन, अब ईन्जिनले चल्नुपर्छ । यसको अर्थ प्रविधिको अधिकतम उपयोगमा प्रवेश गर्नैपर्छ । प्रत्येक विद्यार्थीको शैक्षिक उपलब्धिको दैनिक विवरण गुगलमा भेटिनु पर्छ ।
५. परीक्षा नै नलिने होइन । परीक्षालाई निरन्तर मूल्याङ्कन पद्दतिसँग जोडेर जान सकिन्छ । परीक्षालाई समयानुकूल र सान्दर्भिक बनाउनै पर्छ । यो युगको माग हो । विद्यार्थी मूल्याङ्कनमा शिक्षक र शिक्षा प्रशासनका कर्मचारी नै प्रत्यक्ष जोडिने हुन् । शिक्षाका पूर्वप्रशासकहरुको अनुभवलाई अधिक उपयोग गर्ने स्थान पनि यहि हो । त्यस्तै पूर्व शिक्षकहरुलाई पनि परीक्षामा जोड्न सकिन्छ । यसो गर्दा जनशक्तिको अभाव भन्ने रहँदैन । योग्य, दक्ष र सक्षम जनशक्तिका लागि हिजो राज्यले लगानी गरेका र आज सुबिधा उपलब्ध गराइएका वयक्तिहरु उपयोगमा ल्याउने नीति नै बन्नुपर्छ । हाम्रो शिक्षा व्यवस्था जिर्ण र परम्परागत उल्झनमा फसेकै हो । सँगै परीक्षाका शैली र नतिजाका लागि महिनौं छटपटिनुपर्ने परम्परा तोडिनुलाई सकारात्मक भन्नैपर्छ ।
उक्त दलदलबाट बाहिर निकालेर स्वच्छ प्रणालीमा रुपान्तरण गराउने अभिभारा आजका स्थानीय, प्रदेश र संघीय तहका जिम्मेवार शासक वर्गकै हो भन्दा अत्युक्ति नहोला । जहाँ र जहिले भएपनि कपि जाँच्ने शिक्षकले नै हो । कमि कमजोरी भएमा सुधार्ने र दण्डित गर्ने नीति कार्यान्वयनमा ल्याउनै पर्छ । परीक्षार्थीले परीक्षामा गरेको मिहिनेत बमोजिम पाउनु पर्ने अंकमा रत्ति पनि कमजोरी नहोस् र नपाउनु पर्ने अंक दिएर भोलि उक्त सर्टिफिकेटले सम्बन्धित विद्यार्थीलाई नै नगिज्याओस् भन्ने अपेक्षा गरिएको छ ।







