हेटौँडा उपमहानगरपालिका ।

हेटौंडा : मंसिर महिना सकिन लाग्दा हेटौंडा उपमहानगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुमध्ये १६ वटा सहकारी संस्थाहरुले मात्र साधारणसभा सम्पन्न गरी उपमहानगरपालिकामा प्रतिवेदन पेश गरेका छन् । हेटौंडा उपमहानगरपालिकाभित्र १ सय ४१ वटा सक्रिय सहकारी संस्थाहरु सञ्चालनमा रहेकोमा मंसिर २५ गते (बिहीबार)सम्म जम्मा १६ वटा सहकारीले साधारणसभामार्फत् पारित प्रतिवेदन पेश गरेका हुन् ।

प्रत्येक वर्ष आर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र साधारणसभाबाट पारित गरिएको प्रतिवेदन स्थानीय तहमा बुझाउनपर्ने नियम रहेको छ । विविध कारणले समयसीमाभित्र साधारणसभा सम्पन्न गर्न नसकेमा थप डेढ महिनामा लेखापरीक्षणसहित वार्षिक साधारणसभामार्फत् पास भएको प्रतिवेदन पालिकामा बुझाउनुपर्नेछ ।

चालु आर्थिक वर्षका लागि साधारणसभा सम्पन्न गरी प्रतिवेदन बुझाउने म्याद करिब एक महिना बाँकी रहँदा १६ वटा सहकारी संस्थाहरुले मात्र प्रतिवेदन पेश गरेका हुन् । हेटौंडामा सबै प्रकारका सहकारी संस्थाहरु १ सय ९८ वटा रहेका छन् । यीमध्ये सक्रिय सहकारीहरु १ सय४१ वटा रहेको उपमहानगरपालिकाको तथ्यांक छ ।

अघिल्ला वर्षहरुमा कात्तिकभित्र साधारणसभा सम्पन्न गरी मंसिर मसान्तसम्ममा ५० प्रतिशतभन्दा धेरै सहकारीले पालिकासमक्ष प्रतिवेदन पेश गर्ने गरेका भए पनि यस वर्ष जेनजी आन्दोलनका कारण असोज तथा कात्तिकको आधाआधीसम्म साधारणसभा सम्पन्न गर्न नसकेका हुन् । यसवर्ष पालिकामा प्रतिवेदन पेश गर्न अघिल्ला वर्षभन्दा ढिलो हुनसक्ने आँकलन उपमहानगरपालिकाको छ । अहिले भटाभट साधारणसभा भइरहेकाले एक महिनाभित्र अरु पनि प्रतिवेदन आइपुग्ने अपेक्षा उपमहानगरपालिको सहकारी नियमन शाखाका कर्मचारी महेन्द्र चापागाईंले गर्नुभएको छ ।

उपमहानगरपालिकाभित्र ५७ वटा निष्क्रिय सहकारी रहेको सहकारी शाखाले जनाएको छ । पालिकाभित्र हाल सबैभन्दा बढी बचत तथा ऋण सहकारीको संख्या ८९ भए पनि १६ वटा बचत तथा ऋण सहकारी संस्थाहरु निष्क्रिय अवस्थामा छन् । दोस्रोमा कृषि सहकारी संस्था छन् । पालिकाभित्र हाल ५३ वटा कृषि सहकारीहरु रहेका छन् । यद्यपि २० वटा कृषि सहकारी संस्थाहरु निष्क्रिय देखिन्छन् ।

पालिकामा २० वटा बहुउद्देश्यीय सहकारीहरु दर्ता भएकोमा हाल ७ वटा निष्क्रिय अवस्थामा छन् । यस्तै, पालिकाभित्र उपभोक्ता सहकारीहरु ८ वटा, जडिबुटी सहकारी ५ वटा, दुग्ध सहकारी एउटा गरी ५७ वटा सहकारीहरु निष्क्रिय अवस्थामा रहेका छन् । पालिकामा सक्रिय रहेका १ सय ४१ वटा सहकारीहरुमा हाल ९४ करोड २३ लाख १ हजारको कुल शेयर पुँजी रहेको छ । यी सहकारीहरुमा ६ अर्ब २० करोड ६ लाख ९२ हजार रुपैयाँ निक्षेप रहेको रहेको छ भने ६ अर्ब ४० करोड ७३ लाख ७० हजार रुपैयाँ ऋण लगानी गरेको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ ।

सबै सहकारी संस्थाहरुको कुल सम्पत्ति ९अर्ब ११ करोड ४६ लाख १० हजार रुपैयाँ रहेको हेटौंडा उपमहानगरपालिकाको सहकारी शाखाले जानकारी दिएको छ । यी संस्थाहरुमा १ लाख १५ हजार ५५ जना शेयर सदस्यहरु रहेका छन् । उपमहानगरपालिकाभित्रका सहकारीहरुमध्ये ५० करोड भन्दा बढी शेयर पुँजी भएका ३ वटा संघीय सरकारको नियमनमा रहने व्यवस्था छ भने २५ करोडदेखि ५० करोड बिचमा शेयर पुँजी रहेका ७ वटा सहकारी प्रदेशको नियमन तथा नियन्त्रणमा रहेका छन् । २५ करोडभन्दा कम शेयर पुँजी भएका सबै सहकारीहरु हेटौंडा उपमहानगरपालिकाले नै नियमन गर्दै आएको छ । पछिल्लो समय पालिकाभित्र डिजिटलरुपमा एकीकृत प्रणालीको रुपमा रहेको सहकारी तथा गरिबीसम्बन्धी व्यवस्थापन सूचना प्रणाली (कोपोमिस) मार्फत् १ सय ४६ सहकारी सञ्जालमा आबद्धसमेत भइसकेका छन् ।