सांकेतिक तस्वीर ।

हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा छुट्टाछुट्टै घटनामा ३ जनाको मृत्यु भएको छ । प्रदेशको चितवन, र काभ्रे जिल्लामा बिहीबार ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

काभ्रेको बनेपा नगरपालिका–६ अठ्ठाइस किलोमा एक पुरुष आफ्नै कोठाभित्र मृत अवस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा पाँचथर जिल्लाको तुङवेवा गाउँपालिका–५ घर भई बनेपा क्षेत्रमा लेबर काम गर्दै आएका ५० वर्षीय धनबहादुर सुब्बा रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार साँझ ६ बजेर २० मिनेटको समयमा सुब्बाले बिहानदेखि ढोका नखोलेको भन्दै घरबेटीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरी, घरधनी र स्थानीय जनप्रतिनिधिको रोहवरमा ढोका खोली हेर्दा उनी आफ्नै कोठामा ओछ्यानमा बाँया कोल्टे अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।

चितवनको नगरपालिका–१४ पिठुवा स्थित पशुपति पाइप फ्याक्ट्रीमा काम गर्ने क्रममा लडेर घाइते भएकी महिलाको उपचारका क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरको थाहा नगरपालिका–४, घर भई हाल रत्ननगर–१४ पिठुवा बस्ने ४४ वर्षीया अनिता लामा रहेको प्रहरीले जानकारी दिएको छ । सोमबार अपराह्न ४ बजेर ३० मिनेटको समयमा फ्याक्ट्रीमा काम गर्ने क्रममा लड्दा टाउकोमा गम्भीर चोट लागेको थियो । घाइते लामालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर लगिएको थियो । उपचारको क्रममा अनिताको बिहीबार बिहान ८ बजेको समयमा मृत्यु भएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

चितवनको राप्ती नगरपालिका–१० अन्तर्गत कालिका सामुदायिक वनमा घाँस काट्न गएकी एक महिलाको रुखबाट लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा ६१ वर्षीया सिरो माया प्रजा रहेको प्रहरीले जानकारी दिएको छ । बिहीबार बिहान ९ बजेर ३० मिनेटको समयमा सिरोमाया सामुदायिक वन क्षेत्रमा रहेको सालको रुखमा चढेर घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते भएकी थिइन् । उनलाई उपचारका लागि लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।