मनहरी : मकवानपुरको मनहरी गाउँपालिका–९ अन्तर्गत पूर्व–पश्चिम राजमार्ग सडकखण्डमा ट्रक र यात्रुबाहक बस एकआपसमा ठोक्किँदा १४ जना घाइते भएका छन् । बिहीबार राती ११ बजेर ४० मिनेटको समयमा वीरगञ्जबाट चितवनतर्फ जाँदै गरेको बा.प्र.०६–००१ ख ०४१५ नम्बरको चामल लोड ट्रक र काठमाडौंबाट झापातर्फ जाँदै गरेको प्र.१–०१–००१ ख ४७६८ नम्बरको बस रजैया क्षेत्रमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा २ जना मध्यम र १२ जना सामान्य गरी जम्मा १४ जना घाइते भएका छन् । सबै घाइतेहरुको सिएमसी चुरेहिल अस्पताल मा उपचार भइरहेको छ । ट्रक चालक हेटौँडा–२ बनस्खण्डीका २३ वर्षीय समुद्रप्रसाद पौडेल, बस चालक झापा जिल्लाको शिवसतासी नगरपालिका–११ नहरचोक बस्ने ३५ वर्षीय खगेन्द्र काफ्ले र सहचालक मोरङ जिल्लाको हरिचामर नगरपालिका–४ संगमचोक बस्ने ४५ वर्षीय धर्के धिमाल घाइते भएका छन् ।

दुर्घटनामा काभ्रे जिल्लाको चौरीदेउराली गाउँपालिका–२ मगरटोलका ७९ वर्षीय, तेह्रथुम जिल्लाको आठराई नगरपालिका–४ की २१ वर्षीया उमा विष्ट, मोरङ जिल्लाको कानेपोखरी गाउँपालिका–१, भण्डारी टोलका ४२ वर्षीय निलम खड्का, झापा मेचीनगर नगरपालिका–१२ पाथिभरा चोकका ६० वर्षीय नीतिरमन गौतम, सुनसरी जिल्लाको दोहबी नगरपालिका–३ माझीटोलका २३ वर्षीय शालिकराम खड्का, रौतहट जिल्लाको भरतवाह नगरपालिका–६, बसन्तपट्टिका ५० वर्षीय राजपुकार शाह, ६१ वर्षीया देवी बिष्ट, झापा बिर्तामोड नगरपालिका–५ देवीबस्तीका ६६ टुकसान सुब्बा, ६३ वर्षीया रमा थापा झापाका बुद्धशान्ति नगरपालिका–३ डाँडागाउँका १७ वर्षीय मेजिक योङहाङ, बुद्धशान्ति नगरपालिका–४ नयाँबस्तीका ४८ वर्षीया बिन्दु गौतम र देश भारत सिक्किमका ४२ वर्षीय मम्म क्षेत्री घाइते भएका छन् ।