हेटौँडा : फागुपूर्णिमा (होली पर्व) भिडभाड हुनेगरी नमनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रचारप्रसार तथा मौन अवधिभित्र फागुन १८ र १९ गते होली परेकाले निर्वाचन आचारसंहिता तथा सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै आपसी सद्भाव, शान्ति र सौहार्दपूर्ण वातावरणमा होली खेल्न प्रशासन कार्यालयले आग्रह गरेको हो ।

बिहीबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको सहायक प्रमुख जिल्ला अधिकारीले हस्ताक्षर गर्नुभएको सूचनामा होली÷फागु पर्वलाई धार्मिक एवम् सांस्कृतिक दृष्टिले मर्यादित, सभ्य र अनुशासित ढंगले मनाउनुका साथै निर्वाचनको सुरक्षा र निर्वाचन आचारसंहिता पालना गर्न आह्वान गरिएको छ । होलीको समयमा हुन सक्ने अवाञ्छित गतिविधि तथा सो पर्वका कारण निर्वाचन सुरक्षामा पर्न सक्ने प्रभावलाई मध्यनजर गर्दै जिल्ला सुरक्षा समितिले राजनीतिक दल, उम्मेदवार, दलका प्रतिनिधि, धार्मिक संघसंस्था, आमनागरिक तथा सरोकारवाला सबैलाई आग्रह गरेको सूचनामा जनाइएको छ ।

सूचनामा निर्वाचन आचारसंहिता २०८२ को पूर्ण परिपालन गर्ने तथा आचारसंहिता उल्लंघन भएको जानकारी उपलब्ध गराउन पनि आग्रह गरिएको छ । होलीको दिन भिडभाड हुने कुनै पनि कार्यक्रम नगर्न र नगराउन आग्रह गर्दै गर्नुनै पर्ने भएमा जिल्ला प्रशासन कार्यालयबाट अनिवार्य अनुमति लिन सूचनामा भनिएको छ ।

पर्व मनाउने नाममा कसैको इच्छाविपरीत जबरजस्ती, अमर्यादित तथा उच्छृङ्खल व्यवहार नगर्न सूचनामा आग्रह गरिएको छ । मादक पदार्थ तथा नशालु पदार्थ सेवन नगर्न, मादक पदार्थ सेवन गरी सवारी साधन नचलाउन, सार्वजनिक स्थलमा होहल्ला नगर्न तथा चर्को आवाजमा बाजा (डिजे) नबजाउन प्रशासनले अनुरोध गरेको छ । छरछिमेकलाई असर पर्ने खालका कुनै पनि कार्य नगर्न, पटाका पड्काउने तथा आतिसवाजीजस्ता क्रियाकलाप नगर्न पनि सूचनामा आग्रह गरिएको छ ।

धार्मिक सहिष्णुता, आपसी सद्भाव कायम राखी होली तथा रंगहरुको पर्व मनाउने र कसैको इच्छा तथा मर्यादा विपरीत रङ दल्ने, होला हान्ने, फोहर पदार्थले छ्याप्ने, दुःख हैरानी तथा कष्ट दिने कुनै पनि कानुन विपरीतका कार्य नगर्न र नगराउन सूचनामा उल्लेख छ । प्रचलित कानुन विपरीत कार्य कसैले गरे, गराएको पाइएमा प्रचलित कानुन तथा निर्वाचन आचारसंहिता बमोजिम कडाभन्दा कडा कारबाही हुने सूचनामा उल्लेख छ ।