हेटौँडाः मकवानपुरगढी गाउँपालिका–२, शिखरकटेरीस्थित चण्डिका माध्यमिक विद्यालयले तीन दिवसीय खेलकुद कार्यक्रमको आयोजना गरी ४७ औँ वार्षिक उत्सव सम्पन्न गरेको छ । सोमबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजकुमार लामा गोलेको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको विद्यालयका प्रधानाध्यापक कमल फुयालले जानकारी दिनुभयो ।


विद्यालयले वार्षिक उत्सवको अवसरमा एक कक्षादेखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई विविध खेलकुद कार्यक्रमको आयोजना गरेको थियो । विद्यालयले नर्सरी र केजी कक्षाका विद्यार्थीहरूका लागि बेलुन फुटाई, १–२ कक्षाका लागि चकलेट दौड, तीन कक्षाका लागि चम्चा दौड, चार कक्षाका लागि सियोधागो दौड, पाँच कक्षाका लागि म्युजिकल चेयर प्रतियोगिता गरेको हो । यस्तै, ६ देखि ८ कक्षाका विद्यार्थीका लागि बेलुन डान्स र ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरूलाई भलिबल प्रतियोगिताको आयोजना गरेको थियो । प्रतियोगितामा प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको छ ।

वार्षिक उत्सवको अवसरमा विद्यार्थीले गायन तथा नृत्यसमेत प्रस्तुत गरेका थिए । सोही अवसरमा कक्षा १ देखि १२ सम्म २०८१ सालको परीक्षामा कक्षागत प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो । विद्यालयका सबै शिक्षक र कर्मचारीलाई सम्मानपत्र प्रदान गरिएको थियो । कार्यक्रममा प्रधानाध्यापक फुयालले विद्यालयको प्रतिवेदन पेश गर्नुभएको थियो ।


विद्यालयलाई शैक्षिक उन्नयनका लागि सहयोग उपलब्ध गराउने व्यक्ति तथा संस्थालाई विद्यालयले सम्मानपत्रसहित सम्मान गरेको छ । विद्यालयलाई बस सञ्चालनका लागि विद्यालयका पूर्वप्रधानाध्यापक दाशरथी उपाध्यायले ४१ हजार, महिला आवाज सहकारीले २२ हजार ५ सय, श्रमिक दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १५ हजार ५ सय, महाकाली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले १५ हजार र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहले १५ हजार रुपैयाँ प्रदान गरेको छ । शिवम सिमेन्ट लिमिटेड, मोडर्न इन्फ्रास्ट्रक्चर प्रालिले २ सय लिटर तेल र नियमित सहयोग गर्ने बताएको प्रधानाध्यापक फुयालले जानकारी दिनुभयो । प्राप्त नगद विद्यालयले बस सञ्चालनको लागि प्रयोग गर्ने उहाँको भनाइ छ ।


कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन, प्रमुख प्रशासकीय अधिकृत सुदन लामिछाने, शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख रामबहादुर घलान, १ नम्बर वडा अध्यक्ष तथा सामाजिक विकास समितिका अध्यक्ष आइत सिंह लो र २ नम्बर वडा अध्यक्ष बखान सिंह पाख्रिनको विशिष्ट आतिथ्य रहेको थियो । १२ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल ४०६ जना विद्यार्थी अध्ययनरत रहेका छन् ।