हेटौँडाः हेटौँडास्थित यातायात व्यवस्था कार्यालयका एक जना अधिकृत र बिचौलियालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित नियन्त्रणमा लिएको छ । सवारी सरुवा सहमतिको कामका लागि सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने विशेष सूचनाका आधारमा खटिएको अख्तियारको टोलीले उनीहरूलाई रङ्गेहात समातेको हो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौँडाबाट खटिएको टोलीले यातायात कार्यालयमा कार्यरत छैटौँ तहका अधिकृत अमृत भेटुवाल र बिचौलियाका रूपमा कार्यरत लेखापढी व्यवसायी खगेन्द्र पौडेललाई नियन्त्रणमा लिएको छ । पौडेलले सेवाग्राहीबाट ११ हजार ५ सय रुपैयाँ घुस लिइसकेको अवस्थामा हेटौँडा उपमहानगरपालिका वडा नं. ११ स्थित कार्यालय परिसरबाटै दुबै जनालाई समातिएको अख्तियारले जनाएको छ ।
पक्राउ परेकाहरूको साथबाट तीन थान मोबाइल सेटसमेत बरामद भएको छ । सेवाग्राहीको काम गरिदिने बहानामा रकम लेनदेन भइरहेको उजुरी परेपछि अख्तियारले केही समयदेखि उनीहरूमाथि निगरानी बढाएको थियो । पक्राउ परेका दुबै जनालाई अहिले हिरासतमा राखेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो । (स्रोतः रातोपाटी)










