रामेछापको मन्थली–६, बेनिघाट पुलनजिक बस दुर्घटना भएर १२ जनाले ज्यान गुमाएको दुई साता नहुँदै धादिङको बेनिघाट रोराङ–७, चरौँदी नजिकै सोमबार बिहान भएको बस दुर्घटनाले मुलुकको सडक सुरक्षाप्रति गम्भीर चासो पैदा भएको छ । रामेछापको बस दुर्घटनाको केही दिन अघिमात्र बैतडीमा जन्ती बाकेको बस दुर्घटना भएर १३ जनाको ज्यान गएको थियो । धादिङमा भएको बस दुर्घटनामा ३ विदेशी नागरिकसहित १९ जनाको मृत्यु भएको छ । दुर्घटनामा दुई दर्जनभन्दा बढी घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको बस मध्यरातमा पृथ्वी राजमार्गबाट त्रिशूली नदी किनारमा खसेर दुर्घटना भएको थियो । धादिङमा भएको बस दुर्घटनाको छानविन गर्न गृह मन्त्रालयले सहसचिवको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरेको छ ।
यी घटना मुलुकको सवारी दुर्घटनाको दृष्टान्तमात्र हो । मानवीय क्षति बढी भएका कारण यी दुर्घटनाप्रति केही चासो व्यक्त गरिए पनि देशका विभिन्न भागमा यस्ता दुर्घटना छिनछिनमै हुने गरेका छन् । सवारी दुर्घटनाकै कारण दैनिक १० जनाभन्दा बढीले ज्यान गुमाउने गरेका छन् भने सयौँ घाइते भइरहेका छन् । सवारी दुर्घटनाका कारण दिनहुँ धेरै नागरिकको ज्यान गइरहेको भए पनि राज्यका संयन्त्र र सरोकारवालाको चासो कम हुने गरेको पाइन्छ । धेरै व्यक्तिको ज्यान जाने गरी भएका दुर्घटनाप्रति क्षणिक चिन्ता र चासो व्यक्त गरिए पनि मानवीय क्षति कम भएका अधिकांश सवारी दुर्घटनामा खासै ध्यान दिइँदैन ।
दुर्घटना त्यतिकै हुँदैन । प्रत्येक दुर्घटनाका पछाडि कुनै न कुनै कारण अवश्य हुन्छ । धेरैजसो सवारी साधन दुर्घटनामा चालकको असावधानी तथा लापरबाही देखिने गरिए पनि दुर्घटनाका अन्य थुप्रै कारण हुन्छन् । सवारी दुर्घटना न्यूनीकरणप्रति राज्यको चासो, चिन्ता र गम्भीरता निकै कम पाइने गरेको छ । सवारी साधनको निर्वाध आयात र सञ्चालन अनुमति दिने गरेको सरकारले सवारी साधनको व्यवस्थापनमा भने पर्याप्त ध्यान दिन सकेको छैन । सवारी साधन दुर्घटनाबाट ठूलो क्षति भएको अवस्थामा सरकारले छानविन समिति वा कार्यदल गठन गर्ने गरे पनि कार्यदलले दिएको प्रतिवेदन कार्यान्वयनमा भने सरकार उदासिन बन्ने गरेको छ ।
सार्वजनिक यातायातको अव्यवस्थापन र जोखिमपूर्ण अवस्था अन्त्य गर्न पटक–पटक अध्ययन, अनुसन्धान भएर थुप्रै प्रतिवेदन तयार भएका छन् । कतिपय दुर्घटनाको कारण पहिचान गरी समस्या समाधान गर्नकै लागि बनाइने कार्यदलहरुले पनि सरकारलाई प्रतिवेदन बुझाएका हुन्छन् । जति नै छानविन, अध्ययन गरे पनि, जति ठूलो प्रतिवेदन तयार भए पनि, जति नै बैठक र विमर्श गरे पनि हाम्रो सार्वजनिक यातायात अत्यन्तै अव्यवस्थित, लापरबाह र जोखिमपूर्ण रहेको तीतो यथार्थ हो । सरकारलाई बुझाइएका प्रतिवेदन सार्वजनिक समेत नगरी दराजमा थन्क्याएर राख्ने परिपाटी रहँदासम्म दुर्घटना न्यूनीकरण सम्भव हुँदैन ।
सवारी दुर्घटनाको कारण खोजी गरेर भविष्यमा दुर्घटना हुन नदिनु सबैभन्दा महत्वपूर्ण कुरा हो । मानवीय क्षतिका हिसाबले दुर्घटना सानो होस् वा ठूलो, त्यसको कारण पहिचान गरी न्यूनीकरणमा लाग्नु राज्य र सबै सरोकारवालाको दायित्व हो । सवारी दुर्घटना बढ्यो, सार्वजनिक यातायातको अवस्था नाजुक भयो भनेर चिन्ता गरेरमात्रै पनि हुँदैन । सवारी व्यवस्थापन प्रभावकारी बनाउँदै दुर्घटना न्यूनीकरण गर्न सरकारर सरोकारवाला सबै कटिबद्ध हुनुपर्छ । दुर्घटना एउटा दुःखद् संयोग हो । कसैले पनि जानीजानी दुर्घटना होस् भन्ने चाहँदैन । दुर्घटनाको जोखिम न्यूनीकरण गर्न पूर्वसावधानीचाहिँ अपनाउन सकिन्छ । सडकमा हुने साना–ठूला सबै प्रकारका दुर्घटनालाई गम्भीररुपमा लिएर यसको कारण खोजी गरी न्यूनीकरणका लागि ध्यान दिनु जरुरी छ ।











