हेटौँडाः बालश्रमको अनुगमन गर्ने क्रममा हेटौँडाका विभिन्न ग्यारेज तथा वर्कसपबाट ७ जना बालश्रमिकको उद्दार गरिएको छ । श्रम तथा रोजगार कार्यालय मकवानपुर, हेटौंडा उपमहानगरपालिका, वडा प्रहरी कार्यालय र बाल हेल्पलाइन नेपाल (१०९८) को संयुक्त टोलीले हेटौँडा–४ का विभिन्न वर्कसप तथा ग्यारेजमा बालश्रम अनुगमन गरेको हो ।
अनुगमन टोलीले १० वटा वर्कसप तथा ग्यारेजको अनुगमन तथा निरीक्षण गर्दा बालश्रमिक फेला परेपछि उद्दार गरिएको छ । अनुगमन टोलीले शाह मोटरसाइकल डेन्टपेन्ट ग्यारेजबाट १५ वर्षका एक जना बालकलाई उद्दार गरेको छ । यस्तै, न्यू हेटौँडा बाइक सर्भिस ग्यारेजबाट १७ वर्षका २ जना बालकलाई टोलीले उद्दार गरेको जनाएको छ ।
अनुगमनको क्रममा जेके टायर मर्मतबाट १७ वर्षका एक जना बालक र अण्डा बोक्ने बोलेरो गाडीबाट १४ र १५ वर्षका २ जना बालकलाई उद्दार गरिएको छ । न्यू आशिया मेकानिकल वर्कसपबाट १७ वर्षका एक जना बालकसहित ७ जना बालश्रमिकको उद्दार गरिएको हो ।
उद्दार गरिएका बालकहरूलाई बाल हेल्पलाइनको संरक्षणमा पठाइएको छ । उद्दार गरिएका बालकहरू १ जना भारत, २ जना हेटौँडा–१७ का, १ जना झापा, १ जना वीरगञ्ज र २ जना पर्सा जिल्लाका रहेका छन् । अनुगमन टोलीमा श्रम तथा रोजगार कार्यालय हेटौंडाका प्रमुख रुद्रनारायण शाह, कार्यालयका नायब सुब्बा शर्मिला राई, बाल हेल्पलाइन १०९८ का प्रबन्धक एवम् बागमती प्रदेश बालअधिकार समितिका सदस्य झविन्द्र ज्ञवाली, बाल हेल्पलाइनका कार्यक्रम अधिकृत तथा मनोविर्मशकर्ता सम्झना अधिकारी, हेटौँडा उपमहानगरपालिकाको महिला, बालबालिका तथा समावेशीकरण महाशाखा प्रतिनिधि निर्मला दहाल, वडा प्रहरी कार्यालय सानोपोखराका प्रहरी प्रतिनिधिहरूलगायतको सहभागी रहेका थिए ।
बाल हेल्पलाइनबाट बालकहरुलाई आवश्यक परामर्श सेवा र परिवार सम्पर्कमा ल्याएपश्चात् हेल्पलाइनले कानुनी उपचारको लागि बालकहरुलाई श्रम तथा रोजगार कार्यालय हेटौँडामा पठाइने हेल्पलाइनका प्रबन्धक ज्ञवालीले जानकारी दिनुभयो ।
चालु आर्थिक वर्ष २०८२/०८३ मा यस किसिमको बालश्रम अनुगमनमार्फत विभिन्न क्षेत्रबाट २२ जना बालक र ३ जना बालिका गरी जम्मा २५ जना बालश्रमिकहरु उद्दार गरिएको हेल्पलाइनले जनाएको छ । बालबालिकालाई बालश्रममा प्रयोग गरेबापत बालश्रम निषेध र नियमित गर्ने ऐन २०५६ बमोजिम सजाय हुने व्यवस्था रहेको श्रम तथा रोजगार कार्यालयका प्रमुख रुद्र नारायण शाहले बताउनु भयो ।










