हेटौँडा : प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिता २०८२ का लागि मकवानपुरको टोली घोषणा भएको छ । मकवानपुर जिल्ला क्रिकेट संघले शुक्रबार सुमन सुनारको नेतृत्वमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

संघले प्रदेशस्तरीय छनोटका लागि सुनारको नेतृत्वमा घोषणा गरेको टोलीमा उपकप्तान रिजन ढकालसहित शुभ कंसाकार, युविन बुढाथोकी, तक्षक सिम्खडा, विशाल फुयाँल, विशेषविक्रम थापा, साकार गजुरेल र विकेट किपर सक्षम बास्ताकोटी रहेका छन् । यसैगरी रोहित ठाकुर, गोकुल अधिकारी, स्वरुप श्रेष्ठ, असिम श्रेष्ठ र रोहित विष्ट पनि टोलीमा अटाएका छन् । एमडी मोहम्मद राजा, इरफान नदफ, शिवशक्ति महतो र निमा थोकर प्रतियोगिताको लागि रिजर्भ खेलाडीका रुपमा छनोट भएका छन् ।

मकवानपुर जिल्लास्तरीय प्रारम्भिक चरणको छनोट माघ ४ गतेदेखि १० गतेसम्म हेटौँडा–४, हुप्रचौरमा भएको थियो । क्रिकेट संघ मकवानपुरले यस वर्ष जिल्लास्तरीय छनोटका लागि आवेदन दिएका ५६ जना खेलाडीहरुमध्ये २४ जनालाई पहिलो चरणमा छनोट गरेको थियो । संघका सदस्य संजोग पोखरेलका अनुसार दोस्रो अर्थात जिल्लास्तरीय अन्तिम छनोट कार्य माघ २३ र २४ गते भरतपुर क्रिकेट मैदान भएको थियो । जसबाट छनोट भएका उत्कृष्ट १४ जनाको टोलीले बागमती प्रदेशस्तरीय छनोट प्रतियोगिता खेल्नेछ ।

नेपाल क्रिकेट संघ (क्यान) बाट आधिकारिकता पाएका बागमती प्रदेशका ६ वटा जिल्लाहरू (मकवानपुर, चितवन, नुवाकोट, ललितपुर, भक्तपुर र काठमाडौं) र एउटा त्रिभुवन विश्वविद्यालयको टिम गरी ७ वटा टिमका बीच प्रदेशस्तरीय छनोट प्रतियोगिता हुनेछ ।