हेटौँडा : हेटौँडा–१८, खड्कुलेस्थित मकवानपुर बालविद्या सदन (एमबीबीएस) को १९ औं अभिभावक दिवस विविध शैक्षिक, साँस्कृतिक तथा सीपमूलक कार्यक्रमका साथ सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवम् प्रिन्सिपल सुदीपराज गिरीको सभाध्यक्षता तथा वडाध्यक्ष अनिलकुमार बानियाँको प्रमुख आतिथ्यमा शनिबार अभिभावक दिवस कार्यक्रम भएको हो ।
एलकेजी कक्षाकी सिया घिमिरेले स्वागत मतव्य व्यक्त गर्नुभएको कार्यक्रममा कक्षा ७ की विद्यार्थी कृतिमा खड्काले धान खेतीसम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अभिभावक दिवसमा लेखक छवि अनित्य र प्रिन्सिपल गिरी बीच पुस्तक चर्चा भएको थियो । लेखक अनित्यको पछिल्लो कृति बाल महाभारत सम्बन्धमा प्रिन्सिपल गिरीले संवाद गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरूद्वारा विविध नृत्य, गायन, रिड–अलाउड, मार्शल आर्ट प्रस्तुती गरिएको थियो । अभिभावक सविना स्याङ्तानले आफ्ना छोराहरू यूकेजीका अदिप स्याङ्तान र एलकेजीका सायन स्याङ्तानसँगै सांगीतिक प्रस्तुती दिनुभएको थियो ।
विद्यालयले अतिथिहरूलाई विद्यालयमै उत्पादन गरिएका कृषि उपज (चामल र आलु) प्याकेजिङ गरी ‘मायाको कोसेली’का रूपमा प्रदान गरेको थियो । कार्यक्रममा विज्ञान प्रयोग तथा सामग्रीसहितको स्टल, विद्यार्थीहरूले उत्पादन गरेका सामग्रीको बिक्री स्टल, रोबोटिक्स स्टल, फेस पेन्टिङ, चित्रकला प्रदर्शनी तथा विद्यालयमा उत्पादन भएका कृषिजन्य सामग्रीबाट बनेका परिकारका स्टलहरू राखेका थिए ।
विद्यालयले पठन संस्कृतिको प्रवद्र्धन, ‘एउटा कक्षा एउटा सीप’, आधुनिक विज्ञान प्रविधिको ज्ञान तथा श्रम र संस्कृतिको सम्मानलाई प्रमुख नीति बनाउँदै आएको प्रिन्सिपल गिरीले बताउनुभयो । विद्यालयमा पुस्तकमा आधारित गतिविधि, कथालेखन तथा पुस्तक निर्माण कार्यशाला, कथा चौतारी सञ्चालन भइरहेका छन् । ‘एउटा कक्षा एउटा सीप’ कार्यक्रमअन्तर्गत मैनबत्ती निर्माण, धानखेती, गुन्द्री, चकटी र टपरी बुनाइ, ऊनी सामग्री उत्पादन, मोतिको माला निर्माण, खेर गएका कागज प्रशोधन तथा गड्यौला पालनजस्ता सीपमूलक कार्य पनि विद्यालयमा सञ्चालन भइरहेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरकी सदस्य विष्णुमाया थपलिया, बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्री र प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको पनि आतिथ्य रहेको थियो । वडा सदस्य योगराज खतिवडा र बकैया गाउँपालिकाका शिक्षा प्रमुख आईतराम तामाङको पनि आतिथ्य रहेको थियो ।











