हेटौँडा : बागमती प्रदेशमा छुट्टाछुट्टै घटनामा एकैदिन ४ जनाको मृत्यु भएको छ । सिन्धुली र सिन्धुपाल्चोक जिल्लामा शनिबार ४ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५, आलडाँडामा बिजुलीको पोलमा चढेर इन्टरनेटको मर्मत गर्ने क्रममा करेन्ट लागेर पोलबाट खसेर घाइते भएका तीनपाटना गाउँपालिका–२, कदमे घर भई कमलामाई नगरपालिका–४ बस्दै आएका ४२ वर्षीय रामलाल श्रेष्ठको मृत्यु भएको छ । पोलबाट लडेर गम्भीर घाइते भएका श्रेष्ठलाई उपचारका लागि सिन्धुली जिल्ला अस्पताल पठाएको थियो । श्रेष्ठलाई शनिबार दिउँसो १ बजेको समयमा डाक्टरले मृत्त घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
सिन्धुलीकै दुधौली नगरपालिका–१४, चित्रेमा भिरबाट लडेर स्थानीय ४३ वर्षीय दुर्गा बहादुर तामाङको मृत्यु भएको छ । शनिबार दिउँसो ३ बजेको समयमा आफ्नै घर पछाडी रहेको पाखो भिरबाट लडेर घाईते भएका तामाङलाई उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, शनिबार बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–२ का ३७ वर्षीय मनिष दर्लामीको मृत्यु भएको छ । मध्य पहाडी लोकमार्गमा काम गर्दै आएका दर्लामी शनिबार दिउँसो १ बजेर ३० मिनेटको समयमा सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–४, राउत गाउँस्थित आफ्नो कोठामा बेहोस फेला परेका थिए । उपचारका लागि केएमसी अस्पताल काठमाडौं पठाइएका दर्लामीलाई शनिबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा डाक्टरले मृत्त घोषणा गरेको हो ।
सिन्धुपाल्चोक जिल्लाकै भोटेकोशी गाउँपालिका–२ का ६१ वर्षीय सोमबहादुर तामाङको मृत्यु भएको छ । तामाङ शनिबार साँझ ४ बजेर २० मिनेटको समयमा भोटेकोशी–२, लिपिङ पुलस्थित ठाडो खोलामा अचेत अवस्थामा फेला परेका थिए । भोटेकोशी आधारभूत स्वास्थ्य चौकी दुगुनाका उपचारको क्रममा साँझ ७ बजेर ३० मिनेटको समयमा तामाङलाई मृत्त घोषणा गरेको हो । तामाङको घरमा कोही नभएको र उनि मन्दिरको पाटीमा बस्दै आएको प्रहरीले जनाएको छ ।











