प्रहरी प्रहरी कार्यालयमा पत्रकारसँगको परिचयात्मक कार्यक्रम ।

हेटौँडा : गत भदौमा भएको जेनजी आन्दोलनमा भागेका कैदीबन्दीहरु र लुटिएका हतियारहरुबाट निर्वाचनलाई असर नपर्ने बागमती प्रदेशका प्रहरी नायब महानिरीक्षक दीपक रेग्मीले दाबी गर्नुभएको छ । शुक्रबार बागमती प्रदेश प्रहरी कार्यालयको आयोजनामा सञ्चारकर्मीहरुसँग भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रहरी नायब महानिरीक्षक रेग्मीले कारागारबाट भागेका र लुटिएका हतियारहरु पक्राउ गर्नेे क्रम जारी रहेकोले यसले निर्वाचनको सुरक्षा व्यवस्थालाई खासै असर नपार्ने बताउनुभएको हो ।

उहाँले भागेका कैदीबन्दीहरु एउटै दल वा आपराधिक समूहका नभएको पाइएको हुँदा फरक–फरक स्थानमा लुकिरहेकाले यसले निर्वाचनको सुरक्षा माहोलमा खासै प्रत्यक्ष असर नपर्ने दाबी गर्नुभएको छ । यस्तै, हतियारहरुको सन्दर्भमा लामो हतियारहरु खासै नभएको र साना हतियारहरु मात्रै लुटिएका र कतिपय हतियारहरु बिगारिएको अवस्थामा फेला परेकोले अन्य आपराधिक गतिविधिमा प्रयोग हुन सक्नेबारे भने प्रहरीले ध्यान दिएको स्पष्ट पार्नुभयो । बागमती प्रदेशका १० वटा कारागारबाट १ हजार ७ सय ४६ जना कैदीबन्दीहरु भागेकोमा तीमध्ये १ हजार ३ सय ७० जना कारागार फिर्ता भइसकेको र ३ सय ७६ जना कैदीबन्दीमात्र बाहिर रहेको उहाँले जानकारी दिनुभयो । उहाँले अन्य प्रदेशका कारागारबाट भागेका ३ सय ५० जना कैदीबन्दीहरु बागमती प्रदेशभित्र पक्राउ गरी फिर्ता पठाएकोसमेत जानकारी दिनुभयो ।

जेनजी आन्दोलनको क्रममा ध्वस्त भएका प्रहरी कार्यालहरु एक महिनाभित्रै पुनस्र्थापनाका लागि २६ करोड रुपैयाँ बराबरको सहयोग प्राप्त भएको बताउँदै यस घटनाले प्रहरीहरुप्रति आम जनताको विश्वास कायम राख्न सफल भएको समेत जोड दिनुभयो । सर्वसाधारणले लत्ताकपडा, कम्प्युटर, खानेकुरा, सवारी साधनलगायतका विभिन्न वस्तुहरु आपतकालीन रुपमा सहयोग गरी प्रहरीहरुलाई पुनस्र्थापनामा सहयोग गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा निर्वाचनलक्ष्नित सुरक्षा व्यवस्थाबारे जानकारी दिँदै प्रहरी नायब महानिरीक्षक रेग्मीले प्रदेशभर गत वर्षभन्दा ५ सय जना प्रहरी तथा २ हजार २ सय ४३ म्यादी प्रहरी थप परिचालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । उहाँले प्रदेशभर एक हजार २८८ मतदान स्थलका हजार ९७३ वटा मतदान केन्द्रहरुमा ९ हजार ३९ प्रहरी तथा १६ हजार ४५३ म्यादी प्रहरी परिचालन हुने बताउनुभयो ।

प्रदेशको रामेछाप, काभ्रे, रसुवा जिल्ला र उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लाका १० वटा स्थानहरुमा सुरक्षा जोखिम मूल्याङ्कन गर्दै सुरक्षा बेस क्याम्पहरु स्थापना भएको पनि जानकारी दिइएको छ । यस्तै, प्रदेश भित्रका १८ निर्वाचन क्षेत्रहरुका ९८ पालिकाहरुमध्ये सञ्चारबाट बाहिर रहेको दोलखाको १ र रामेछापको १ निर्वाचन क्षेत्रमा स्याट फोनबाट सञ्चार स्थापना गर्ने तयारी गरेकोसमेत उहाँले जानकारी दिनुभयो ।

निर्वाचनमा गलत सूचना र अफवाह फैलाउनेहरु बढी भएकोले यसबारे आफूहरु तयारी अवस्थामा रहेको भन्दै कसैले निर्वाचनबारे गलत सूचना र अफवाह फैलाएको पाएमा प्रहरीसँग समन्वय गर्न आग्रहसमेत उहाँले गर्नुभएको छ । निर्वाचनमा असन्तुष्ट समूहहरुले राजनीतिक झडप तथा बहिष्कार गर्ने, निर्वाचन आचारसंहिता उलङ्घनका घटना हुनसक्ने बिषयमा समेत आफूहरु तयारी अवस्थामा रहेको उहाँको भनाइ छ । हालसम्म जिल्ला प्रशासन कार्यालयको इजाजत प्राप्त १ सय ४४ हातहतियाहरु प्रशासनसमक्ष बुझाइसकेको समेत कार्यक्रममा जानकारी दिइएको छ ।