हेटौँडा : मकवानपुरको थाहा नगरपालिकास्तरीय दोस्रो रनिङ शिल्ड शिक्षक भलिबल प्रतियोगिता हुने भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिले अगामी फागुन ६ र ७ गते प्रतियोगिता आयोजना गर्न लागेको हो ।
नेपाल राष्ट्रिय शिक्षक संगठन थाहा नगर समितिले एक सूचना जारी गर्दै थाहा नगरपालिकाभित्र सञ्चालित सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई सहभागिताका लागि आह्वान गरेको छ । इच्छुक विद्यालयहरुले फागुन ४ गतेसम्म टिम दर्ता गराउन पाउनेछन् । टिम दर्ता शुल्क एक हजार रुपैयाँ लाग्नेछ ।
प्रतियोगिताको उपाधि विजेता टोलीले २५ हजार र उपविजेता टोलीले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका अन्य दुई टोलीले समान ५÷५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी व्यक्तिगत विधागत उत्कृष्ट खेलाडीको लागि पनि ट्रफीको व्यवस्था गरिएको आयोजकले जनाएको छ । प्रतियोगिता थाहा–३ स्थित जनकल्याण माध्यमिक विद्यालयको खेलमैदानमा हुने खेल संयोजक राम महर्जनले बताउनुभयो ।
प्रतियोगितामा सहभागी हुने सामुदायिक विद्यालयको निजी शिक्षकको हकमा र संस्थागत विद्यालयको हकमा नियुक्ति भएको मितिले ६ महिना पूरा भई हालसम्म कार्यरत भएको हुनुपर्ने जनाइएको छ । खेलाडीले खेल पोशाक अनिवार्य लगाउनु पर्नेछ । कुनै खेलाडीउपर दावी बिरोध गर्ने टिमले आवश्यक प्रमाण आफैँ उपलब्ध गराउनुपर्ने र एक हजार रुपैयाँ शुल्क लाग्ने सूचनामा उल्लेख छ । खेलाडीहरुका लागि खाना, खाजालगायत सबै व्यवस्था सहभागी विद्यालय आफैँले गर्नुपर्ने आयोजकले जनाएको छ ।











