हेटौँडा: ‘शान्तिका लागि धम्म यात्रा भगवान बुद्ध जन्मस्थल लुम्बिनीसम्म’ भन्ने उद्देश्यका साथ थाइल्यान्डबाट पैदल यात्रामा निस्किएका २२ जना बौद्ध भिक्षुहरुको टोली बिहीबार हेटौँडा आइपुगेका छन् । थाइल्यान्डको वाट थाम्पाइ विहारका प्रमुख भिक्षु आचान सूफित भन्तेको नेतृत्वमा रहेको यो टोली भगवान बुद्धको जन्मस्थल लुम्बिनीसम्मको पैदल यात्रामा छन् ।

भारतको आसाम र त्रिपुरा हुँदै नेपाल प्रवेश गरेको यो टोली बुधबार राती बाराको अम्लेखगन्जमा बास बसेका थिए । बिहीबार हेटौँडा आइपुगेको भिक्षुहरुको टोलीलाई हेटौँडास्थित प्रज्ञा महाविहारले आवासको व्यवस्थापन गरेको छ । विहारका अध्यक्ष पूर्ण शाक्य र नेपाल मगर बौद्ध सेवा समाज, मकवानपुरका अध्यक्ष अकबर ठाडा मगरले हेटौँडा–४ कर्राचोकमा भिक्षुहरुलाई स्वागत गर्नुभएको थियो ।

बिहीबार राति हेटौँडामा बसेका भिक्षुहरु शुक्रबार बिहान चितवनतर्फ प्रस्थान गर्नेछन् । विश्व शान्तिको कामना गर्दै गत फेब्रुअरी ८ तारिखदेखि गोल्मराज बुद्ध विहारबाट सुरु भएको यो पदयात्रा आगामी फेब्रुअरी २२ तारिखमा कपिलवस्तु पुगेर समापन हुने कार्यतालिका रहेको छ । टोलीमा आइल्यान्डका १५ जना, लाओसका १ जना, भारतका ४ जना र नेपालका २ जना भिक्षुहरु रहेका छन् । यस अभियानमा बाटोमा इच्छुक अन्य भिक्षुहरु पनि सहभागी हुन पाउने छन् र यसैक्रममा नेपालबाट अर्को एकजना भिक्षु पनि सहभागी हुँदैछन् ।

भिक्षु भन्तेले विगत ७ वर्षदेखि विश्वका विभिन्न देशहरुमा धम्म यात्रा गरिँदै आएको र नेपालको यात्रापछि श्रीलंकामा धम्म यात्रा गर्ने बताउनुभयो । यात्राको क्रममा जति थकान भएपनि मनभित्र खुशी भएको उहाँको भनाइ छ । भगवान बुद्धको जन्मभूमिमा आएर बुद्धको पूजा गर्न पाउँदा गर्व महसुस हुने र धम्म यात्रा गर्दा उपासकहरुले पनि पूण्यकर्म गर्न पाउँने मौका पाइने उहाँको भनाइ छ । भिक्षु बिहान एक छाक मात्रै खाना खाने र बेलुका जुस, पानी खाएर बस्ने गोल्मराज बुद्ध बिहारका भिक्षु मेधन्करले जानकारी दिनुभयो ।