हेटौँडा : चितवन जिल्लाको भरतपुर महानगरपालिका–१५ स्थित सित्तलचोकमा मिनी ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ भने उनकी श्रीमती गम्भीर घाइते भएकी छन् । बिहीबार बिहान ७ बजेको समयमा भित्री सडक खण्डमा टुरेचोकबाट सित्तलचोकतर्फ जाँदै गरेको ना ४ ख ४७७२ नम्बरको मिनी ट्रकले रामपुरबाट भरतपुरतर्फ जाँदै गरेको ना ४४ प १६३२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।

दुर्घटनामा स्याङ्जा जिल्लाको हरिनास गाउँपालिका–४ घर भई हाल भरतपुर–२० शारदानगर बस्ने २६ वर्षीय सुरज थापा र पछाडी सवार २२ वर्षीया निरुता थापा गम्भिर घाइते भएका थिए । घाइते दुवैलाई उपचारका लागि चितवन मेडिकल कलेज लगिएकोमा उपचारको क्रममा बिहान ८ बजेर ६ मिनेटको समयमा चालक सुरजलाई चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । दुर्घटनापछि फरार रहेका मिनी ट्रक चालक नवलपुर बुलिङटार गाउँपालिका–१ का ३२ वर्षीय मनिराम बिरकट्टा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।