हेटौँडा: हेटौँडा–२ स्थित बालजागृति इङ्गलिस सेकेन्डरी स्कुलको पाँच दिवसीय अभिभावक दिवस सम्पन्न भएको छ । आइतबारबाट सञ्चालन भएको अभिभावक दिवस बिहीबार विभिन्न साँस्कृतिक एवम् शैक्षिक प्रदर्शनी गरी सम्पन्न भएको विद्यालयकी शिक्षक निर्मला अर्यालले जानकारी दिनुभयो ।
बिहीबार विद्यालयले विभिन्न विषयको प्रदर्शनी तथा लोक संस्कृतिको जगेर्नाका लागि रैथाने खाना, साँस्कृतिक पोशाक लगाएर प्रदर्शनी गरेका थिए । प्रदर्शनका क्रममा विज्ञान विषय अन्तर्गत रहेर कारखानाको प्रदर्शनी गरेका थिए । साथै मौलिक संस्कृतिको रुपमा रहेको रहनसहन, खानाका परिकार प्रस्तुती अन्तर्गत लोकसंस्कृतिको जगेर्नाका लागि प्रस्तुत गरिएको थियो । प्रतियोगितामा कक्षा ४ देखि ९ सम्मका विद्यार्थीको सहभागिता रहेको थियो । कक्षाकोठामा सिकेका ज्ञानलाई हौसला प्रदान गरी अगाडि बढाउन प्रदर्शनीको आयोजना गरिएको शिक्षक अर्यालले बताउनुभयो । बिहीबार सबै विषयको प्रयोगात्मक प्रर्दशनी गरिएको थियो ।
अभिभावक दिवसको पहिलो दिन पूर्वप्राथमिक तहका अभिभावक दिवस भएको थियो । दोस्रो दिन सोमबार कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूले साँस्कृतिक कार्यक्रम गरेका थिए । मङ्गलबार ४ र ५ कक्षा र बुधबार कक्षा ६ देखि ९ सम्मका विद्यार्थीहरूको अभिभावक दिवस कार्यक्रम भएको थियो । अभिभावक दिवसलाई विद्यालयले बृहत साँस्कृतिक तथा शैक्षिक प्रदर्शनीको रूपमा मनाइएको छ । दशैंअघि सञ्चालन हुने कार्यक्रम विविध कारणवश अहिलेलाई सरेको शिक्षक अर्यालले जानकारी दिनुभयो ।
समापन कार्यक्रममा विद्यालय सञ्चालक समितिका अध्यक्ष दिनेश भण्डारीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिनाकुमारी लामाको प्रमुख आतिथ्य रहेको थियो । यस्तै विद्यालयका प्रबन्धक निर्देशक मोहनप्रसाद शर्मा, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण तिमल्सिनाको आतिथ्य रहेको थियो ।











