हेटौंडाः पोखराका कवि तीर्थ श्रेष्ठले शनिबार हेटौंडालाई केन्द्रित गरेर कविता सुनाउनुभयो । भर्चुअल रुपमा अनलाइनमार्फत आयोजित साहित्य सङ्गम मकवानपुरको नियमित साहित्य सन्ध्यामा पोखराबाट कवि श्रेष्ठले १५ वटा कविता वाचन गर्नुभयो । कवि श्रेष्ठका ‘धर्सैधर्साको चक्रव्यूह’ कविता सङ्ग्रह मदन पुरस्कार २०७६ का लागि उत्कृष्ट सातभित्र मनोनयनमा परेको छ ।
साहित्य सङ्गम मकवानपुरको २९८ औँ साहित्य सन्ध्याका अवसरमा कवि श्रेष्ठको एकल कविता वाचन कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कवि श्रेष्ठले ‘हिउँमा लेखिएका नामहरु’, ‘तानसेन’, ‘पागलहरु चुपचाप छन्’ लगायत १५ ओटा कविताहरु वाचन गर्नुभयो । वरिष्ठ कवि तथा संस्कृतिविद् काठमाडौं तुलसी दिवसको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति विष्णुविभु घिमिरेले श्रेष्ठका व्यक्तित्व र उहाँका कवितामाथि चर्चा गर्नुभएको थियो । प्रमुख अतिथि तुलसी दिवस र विष्णुविभु घिमिरे काठमाडौंबाटै सहभागी हुनुभयो ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष निमेष निखिलको अध्यक्षता रहेको कार्यक्रममा काठमाडौंबाट दिनेश अधिकारी, पोखराबाट सरुभक्त, काठमाडौंबाट असीम सागर, गुप्तबहादुर श्रेष्ठ, गीता त्रिपाठी, बुटवलबाट देवराज तिवारी, सुवास खनाल, पोखराबाट गौरी तमु, हुम्ला देवकी तिमल्सिना लगायतको उपस्थिति रहेको थियो । रोजगारीको सिलसिलामा इजरायलबाट श्रीराम अधिकारी पनि सहभागी हुनुभएको थियो । भर्चुअल माध्यमबाट सञ्चालित कार्यक्रममा स्थानीय तथा राष्ट्रियस्तरका करिब ६० जना साहित्यकारहरुको सहभागिता रहेको थियो ।
कवि तीर्थ श्रेष्ठको एउटा कविता
हिउँमा लेखिएका नामहरू
हिउँमा लेखेर आएका छौं
हामीले आ–आफ्ना नामहरू
एकै छिनपछि घाम लाग्यो भने
रहने छैनन् हाम्रा नामहरू
एकैछिनपछि हिउँ थपियो भने पनि
रहने छैनन् हाम्रा नामहरू
हामी हुँदै नरहने हाम्रा नामहरू,
हामी नै नभएपछि कसरी रहलान् हाम्रा नामहरू ।