प्रतियोगितामा प्रथम भएका नवोदय शिशु सदन विद्यार्थीहरु

हेटौँडा : हेटौँडा उपमहानगरपालिका ४ नम्बर वडास्तरीय हाजिरीजवाफ प्रतियोगितामा नवोदय शिशु सदन प्रथम भएको छ । सोमबार ४ नम्बर वडा कार्यालयको आयोजना, शैक्षिक गुणस्तर सुधार समितिको व्यवस्थापन तथा भुटनदेवी माध्यमिक विद्यालयको सहव्यवस्थापनमा भएको प्रतियोगितामा नवोदय शिशु सदनले १६ अंकसहित प्रथम स्थान हासिल गरेको हो ।

यस्तै, १५ अंकसहित ब्रह्मदिक एकेडेमी द्वितीय र ८ अंकसहित भूटनदेवी माध्यमिक विद्यालय तृतीय भएका छन् । प्रतियोगितामा ४ नम्बर वडा भित्रका आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय, सत्यम जेभिर्यस माध्यमिक विद्यालय र श्रमिक माध्यमिक विद्यालय गरी ६ वटा विद्यालयको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रत्येक विद्यालयबाट ३÷३ जना विद्यार्थी सहभागी भएका थिए ।

शैक्षिक गुणस्तर सुधार समितिले पुस १० गतेदेखि फागुन ७ गतेसम्म विभिन्न प्रतियोगिता आयोजना गरी तेस्रो वडा खेलकुद महोत्सव मनाउँदैछ । प्रतियोगिताका विजेताहरुलाई फागुन ७ गते पुरस्कार वितरण गरिने आयोजकले जनाएको छ । भुटनदेवी माध्यमिक विद्यालयको अतिरिक्त क्रियाकलाप संयोजक सुमन श्रेष्ठको सभाध्यक्षतामा भएको प्रतियोगितामा प्रमुख अतिथि वडा अध्यक्ष नवीन सिग्देल, शैक्षिक गुणस्तर सुधार समितिका संयोजक श्रीराम दहाल, विद्यालयका सहायक प्रधानाध्यापक भरत पोखरेल र वेदराज कोइरालाको उपस्थिति रहेको थियो ।