हेटौँडा : मकवानपुर प्रहरीले विभिन्न मुद्दामा सजाय पाएर फरार रहेका ६ जनालाई पक्राउ गरेको छ । आइतबार उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

पक्राउ पर्नेमा लागुऔषध सम्बन्धी कसुरमा २ हजार २ सय रुपैयाँ जरिवाना र २ महिना कैद सजाय पाएका हेटौँडा–१४ का ३१ वर्षीय अमित लामा, २० हजार ८ सय रुपैयाँ जरिवाना र १ वर्ष ६ महिना कैद सजाय पाएका सोहि स्थानका ३२ वर्षीय रामबहादुर गोल रहेका छन् । यसैगरी सवारी ज्यान मुद्दामा २ हजार ४ सय रुपैयाँ जरिवाना र १ वर्ष कैद सजाय पाएका हेटौँडा–७ का ४२ वर्षीय सुनिल मुक्तान, ७७ वर्षीय चन्द्र बहादुर तामाङ, बालयौन दुव्र्यवहार मुद्दामा ४१ हजार ६ सय रुपैयाँ जरिवाना र ६ महिना कैद सजाय पाएका धादिङको गजुरी–७ का २१ वर्षीय अनुप ढकाल, यौन दुव्र्यवहार मुद्दामा १ हजार २ सय रुपैयाँ जरिवाना र १ महिना कैद सजाय पाएका हेटौँडा–७ का ४५ वर्षीय दिपेन्द्र तिवारी पक्राउ परेका छन् । पक्राउ परेकाहरुलाई आवश्यक कारबाहीका लागि मकवानपुर जिल्ला अदालतमा बुझाइएको प्रहरीले जनाएको छ ।