कार्यक्रमको क्रममा खिचिएको तस्वीर ।

हेटौँडा : मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले लागूपदार्थ सेवन गर्ने युवाको संख्या बढ्दो रुपमा रहेको बताउनुभएको छ । सोमबार कैलाश गाउँपालिका–९ मा रहेको कालिका माविले आयोजना गरेको लागूऔषध दुव्र्यसन विरुद्धको सचेतनामूलक कार्यक्रमलाई सम्बोधन गर्दै मुक्तानले सकारात्मक सोच गरौँ कुलतमा नफसौँ भन्ने सन्देश दिनका लागि गाउँपालिकाले कार्यक्रम आयोजना गर्दै आएको बताउनुभयो ।

उहाँले गाँजाभन्दा पनि अफिमबाट उत्पादित ब्राउन सुगर प्रयोग गर्ने युवाको संख्या वृद्धि भएको बताउनुभएको छ । लागूपदार्थ प्रयोग न्यूनीकरणमा गाउँपालिकाले विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको भएपनि कच्चापदार्थ उत्पादित क्षेत्रको रुपमा गाउँपालिका चिनिएको र सयौँ नागरिक भरियाको रुपमा पक्राउ परिरहेको उहाँको भनाइ छ । त्यसलाई न्यूनीकरण गर्न बालबालिका, विद्यार्थीहरु लक्षित विभिन्न कार्यक्रम आयोजना गरी अभिभावकहरुलाई गाँजा र अफिमको विकल्पमा तरकारी तथा अन्य बाली लगाउन प्रोत्साहन गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

गाउँपालिकाको आर्थिक सहयोग तथा मकवानपुर रिकभरिङ समूहको आयोजनामा सचेतनामूलक कार्यक्रम भएको हो । समूहका प्रबन्ध निर्देशक सन्दीप शाक्यको अध्यक्षता तथा गाउँपालिकाका अध्यक्ष मुक्तानको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद कालाखेती, शिक्षक तथा विद्यार्थीहरुको सहभागिता रहेको थियो । समूहले कैलाशका ६ वटा माध्यमिक विद्यालयमा सचेतना कार्यक्रम गर्नेछ । सोमबार नै कैलाश १० मा रहेको रत्नज्योति माध्यमिक विद्यालयमा पनि गरिएको थियो ।