हेटौँडाः साहित्य सङ्गम मकवानपुरले ३ सय ६३ औं नियमित साहित्य सन्ध्यासँगै मकवानपुरका स्वर्गीय साहित्यकार खेम बानियाँ स्मृति दिवस मनाएको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै नियमित साहित्य सन्ध्यासँगै खेम बानियाँको स्मृतिमा माल्यार्पण गरिएको हो ।
विसं २०२५ कात्तिक ७ मा जन्मनुभएका खेम बानियाँ मकवानपुरे साहित्यको जगमा सक्रिय रहनुभएको थियो । उहाँले २०५१ देखि २०५४ सम्म साहित्य सङ्गम मकवानपुरमा सक्रिय रही कविता लेखन अन्तर्गत साहित्यमा योगदान दिनुभएको थियो । उहाँको सोही संस्थामा आबद्ध रही साहित्यमा योगदान दिँदै गर्दा सडक दुर्घटनामा परेर २०५४ माघ १० गते मृत्यु भएको थियो ।
नियमित साहित्य सन्ध्या अन्तर्गत एक दर्जन बढी साहित्यकारहरुले आफ्ना रचना वाचन गरेका थिए । कार्यक्रममा साहित्य र जीवन विषयक अन्तरसम्वादसमेत सम्पन्न भएको छ । अन्तरसम्वादमा बोल्दै मकवानपुरकी महाकाव्यकार मुना अर्यालले साहित्य एक महसुसमात्र नभई मानसिक रोगबाट पीडित हुनबाट बचाउने औषधि भएको बताउनुभयो । उहाँले जीवन बुझाइ एक दृष्टिले मात्र नभई मानवीय संवेदनाको हिसाबले महसुस हुनेसमेत उल्लेख गर्नुभएको छ ।
मकवानपुरका वरिष्ठ साहित्यकार देवराज खरेलले मानवीय संवेदनाहरुको संग्रहबाट अक्षरमा परिणत गर्नु नै साहित्य भएकाले यी दुबै एक अर्कासँग परिपूरक भएको बताउनुभएको छ । उहाँले जब मानव मस्तिष्कले बाह्य वातावरण महसुस गर्छ तबमात्र साहित्य जन्मने कुरामा जोड दिनुभयो ।
साहित्यकार सानु खनालले सहजीकरण गर्नुभएको अन्तरसम्वाद कार्यक्रमले जीवन, प्रकृति र साहित्यको सम्बन्धबारे बिश्लेषणात्मक छलफल गरेको थियो । मकवानपुरकी अग्रज साहित्यकार तीर्थदेवी सिलवालको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा साहित्यकार तुलसी घिमिरेको विशिष्ट आतिथ्य थियो ।
साहित्य सङ्गम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको सभाध्यक्षता रहेको कार्यक्रममा साहित्यसेवी मुक्तिगोबिन्द बैद्य, साहित्यकारहरु शम्भुप्रसाद बास्कोटा, रमेशमोहन अधिकारी, कमल नेपाललगायतको उपस्थिति थियो ।











