हेटौँडाः नेपाल कम्युनिष्ट पार्टी एमालेका केन्द्रीय सचिव महेश बस्नेतले आउँदो निर्वाचनमा नेपाली कांग्रेससँग समझदारीपूर्ण र सहकार्यजनक प्रतिस्पर्धा गर्ने बताउनुभएको छ । जनसंगठन समन्वय संयन्त्रको आयोजनामा शनिबार हेटौँडामा भएको अगुवा कार्यकर्ता भेलालार्ई सम्बोधन गर्दै बस्नेतले सैद्धान्तिकरुपमा लोकतन्त्र र राष्ट्रियताको रक्षा गर्न कांग्रेससँग समझदारीपूर्ण प्रतिस्पर्धा हुने बताउनुभएको हो ।
उहाँले अहिले नयाँ शक्तिहरुले पुराना दलहरुले जनताको लागि केही गरेनन् भन्ने भ्रम फिजाउँदै गलत भाष्य निर्माण गरेको उल्लेख गर्नुभयो । उहाँले नेपाल जटिल भूराजनीतिक अवस्थामा रहेकोमा छिमेकी देशहरुसँग सन्तुलित सम्बन्धहरु कायम गर्न पूर्वप्रधानमन्त्री केपी ओलीमात्रै सक्षम भएको भन्दै विकल्प भनिएका शक्तिहरु बिनाभिजन र विचार पुराना दलहरुबिरुद्ध सामाजिक सञ्जालमार्फत नकारात्मकता फैलाउनमात्र उद्यत भएको आरोप लगाउनुभयो ।
वर्तमान सरकारले आफूलाई नागरिक सरकार भने पनि विदेशी शक्तिद्वारा परिचालित सरकार भएकोसमेत उहाँको आरोप छ । बस्नेतले नवउदारवादी शक्तिहरुले कहिले संघीयताको बिरोध गर्ने, कहिले संघीयताको आवश्यकता देखाउनेजस्ता द्वैध चरित्रका अभिव्यक्ति दिँदै आएकाले यसपटकको प्रतिनिधिसभाको निर्वाचनमा पुराना दलहरुले नै जित्नुपर्ने बताउनुभयो ।
जनसंगठन समन्वय संयन्त्र मकवानपुरका प्रमुख सन्तोष पौडेलेको सभाध्यक्षतामा भएको कार्यक्रममा करिब डेढ दर्जनले एमाले पार्टी प्रवेश गरेका थिए । नेकपा एमालेका केन्द्रीय सदस्य एवम् मकवानपुर क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार रामेश्वर राना, क्षेत्र नं. २ का उम्मेदवार महेशकुमार बर्तौला, नेकपा एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुङ्गेल, मकवानपुरका उपाध्यक्ष हिदम लामालगायत एमालेका विभिन्न जनसंगठनका प्रतिनिधिहरुको उपस्थिति थियो ।











