आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरजिल्लाको २ वटा क्षेत्रबाट मनोनयन दर्ता गरेका ४४ जनाको उम्मेदवारी कायम भएको छ । निर्वाचन अधिकृतको कार्यालय मकवानपुका अनुसार दुबै क्षेत्रका उम्मेदवारमध्ये कसैले पनि मनोनयन फिर्ता नगरेकाले ४४ जनाको उम्मेदवारी कायम भएको हो । शुक्रबार बिहान १० देखि ३ बजेसम्म तोकिएको मनोनयन फिर्ताको अवधिमा कुनै पनि उम्मेदवारले निवेदन नदिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मकवानपुरका कुनै पनि उम्मेदवारको विरुद्ध दावी बिरोधसमते परेको थिएन । यस पटकको निर्वाचनमा पुस्तान्तरणको दृश्य देखिए पनि महिलाको सहभागिता पनि अझै उपेक्षित रहेको छ । मकवानपुरको २ वटा निर्वाचन क्षेत्रमा गरिएको उम्मेदवारको मनोनयनलाई हेर्दा यस पटक राजनीतिक दलहरुले युवालाई अघि सारेको भए पनि महिलाको उपस्थ्तिि भने न्यून रहेको हो ।
आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा पुराना र स्थापित दलदेखि नयाँ दल र स्वतन्त्र उम्मेदवारहरुमा युवाको प्रतिनिधित्व उल्लेखनीय देखिएको छ । मकवानपुरमा २५ देखि ४० वर्ष उमेर समूहका १५ जना युवाहरु चुनावी मैदानमा देखिएका छन् । ४४ जना उम्मेदवारमध्ये ४० वर्षसम्मका युवा उम्मेदवार ३४ प्रतिशत छन् । कुल ४४ जना उम्मेदवारहरुमध्ये महिलाको उपस्थिति भने ७ जनामात्र (करिब १६ प्रतिशत) रहेको छ । देशभर ३ हजार ४८७ जनाको उम्मेदवारी दर्ता भएकोमा महिलाको संख्या ३९५ (करिब ११ प्रतिशत) मात्र रहेको अवस्थामा मकवानपुरमा केही बढी महिला उम्मेदवार भए पनि महिलाको संख्या न्यून नै रहेको देखिन्छ । देशभर २५ देखि ३५ वर्ष उमेर समूहका करिब १७ प्रतिशत उम्मेदवार रहँदा मकवानपुरमा पनि युवाको उपस्थिति सन्तोषजनक देखिएको छ ।
एकातिर स्थापित पुराना नेताहरुको अनुभव र अर्कोतिर ‘जेनजी’ तथा युवाहरूको नयाँ भिजनबीचको चुनावी प्रतिस्पर्धा मकवानपुरमा पनि रोचक हुने देखिएको छ । आसन्न निर्वाचनमा मकवानपुरका कान्छो उम्मेदवार २५ वर्षका रहेका छन् । ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर–२ मा २५ वर्षीय युवालाई उम्मेदवार बनाएको हो । रास्वपाबाटै मकवानपुर–१ मा पनि ३७ वर्षीय युवालाई चुनावी मैदानमा उतारिएको छ । रास्वपामात्र होइन अन्य राजनीतिक दलहरुबाट पनि ४० वर्ष मुनिका युवाहरुको उम्मेदवारी उल्लेख्य छ । उज्यालो नेपाल पार्टीले ३० र ३७ वर्षका युवालाई मकवानपुरको दुई क्षेत्रमा उम्मेदवार बनाएको छ । नेकपा माओवादीको तर्फबाट पनि ३८ र ३६ वर्षीय युवाले उम्मेदवारी दिएका छन् । जनता समाजवादी पार्टीका ३४ वर्षीय, श्रम संस्कृति पार्टी र राष्ट्रिय जनमोर्चाका ३४ वर्षीय एव् संयुक्त नागरिक पार्टीका ३६ वर्षीय युवा चुनावी मैदानमा छन् । स्वतन्त्र उम्मेदवारमध्ये ४ जना ४० वर्ष मुनिका छन् ।
राजनीतिक दलहरुले नवयुवालाई उम्मेदवार बनाए पनि महिलालाई भने पर्याप्त अवसर दिन सकेनन् । मकवानपुर–१ मा नेपाली कांग्रेस, श्रम संस्कृति पार्टी र नेपाल मजदुर किसान पार्टीले महिला उम्मेदवार खडा गरेका छन् । मकवानपुर–१ र २ बाट २–२ जना महिलाले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् । महिलालाई ३३ प्रतिशत आरक्षण दिनुपर्ने संवैधानिक र कानुनी बाध्यता भए पनि दलहरुले महिलालाई अवसर दिन कञ्जुस्याईँ गर्दै आएका छन् । ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गर्न दलहरुले समानुपातिकको सहारा लिने गरेका छन् । महिलालाई प्रतिनिधित्व गराउनैपर्ने बाध्यता हुँदा पनि उम्मेदवार बनाउन उपेक्षा गरेका दलहरुले युवालाई अवसर दिनु स्वागतयोग्य छ । आगामी दिनमा युवासँगै महिलाको सहभागिता पनि सुनिश्चित गर्न दलहरुले उदारता देखाउनु आवश्यक छ ।











