फाइल तस्वीर ।

हेटौँडा : शैक्षिक सुधार समिति हेटौँडा–४ को आयोजना तथा आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयको व्यवस्थापनमा हेटौँडामा नगरस्तरीय छात्र भलिबल प्रतियोगिता सुरु भएको छ । शुक्रबार बिहान हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीना कुमारी लामाले उद्घाटन गर्नुभएको प्रतियोगितामा नगरका १२ वटा विद्यालयको सहभागिता रहेको छ ।

आधुनिक राष्ट्रिय माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहम्मत समीमको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु नवीन सिग्देल र जुना दाहालको पनि आतिथ्य रहेको थियो । प्रतियोगिताको उद्घाटन खेलमा भुटनदेवी माध्यमिक विद्यालयले श्रमिक माध्यमिक विद्यालयलाई २५–२२, २५–२० को सोझो सेटमा पराजित गर्‍यो । दोस्रो खेलमा हेटौँडा–१४ स्थित जनज्योति माध्यमिक विद्यालयले हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई २५–१५ र २५–१९ को सोझो सेटमा पराजित गर्‍यो ।

यसैगरी हेटौँडा–१८ स्थित ज्योति माध्यमिक विद्यालयले हेटौँडा–९ स्थित प्रगति माध्यमिक विद्यालयलाई २५–१४, २५–१३ को सोझो सेटमा पराजित गर्‍यो । शुक्रबार नै भएको खेलमा हेटौँडा–९ स्थित कृष्ण आदर्श इंग्लिस स्कूलले हेटौँडा–४ स्थित नवोदय शिशु सदनलाई २५–१८, २५–१८ को समान सेटमा पराजित गरेको छ । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ । प्रतियोगिताको संयोजक आधुनिक राष्ट्रिय माविका शिक्षक राजाराम पोखरेल रहनुभएको छ ।