हेटौँडा : हेटौँडा उपमहानगरपालिकाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै दुर्घटनामा एक बालकसहित पाँच जना घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ । हेटौँडा–१२ बनस्पति क्षेत्रमा भिरबाट लडेर एक बालक घाइते भएका छन् । घाइते हुनेमा ५ वर्षीय बालक अभि रुम्बा घाइते भएका छन् । बिहीबार बिहान १० बजेको समयमा अभि नवलपुरबाट बनस्पतितर्फ जाँदै गर्दा जंगल क्षेत्रमा खोला तरेर उकालो चढ्ने क्रममा खुट्टा चिप्लिएर ३० मिटर तल भिरबाट खसेका खसेका थिए । घाइते बालकको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।
यस्तै हेटौँडा–१५ नेपाल विद्युत प्राधिकरण सब–स्टेसन नजिक भित्री सडक खण्डमा कारले मोटरसाइकललाई ठक्कर दिँदा एक जना घाइते भएका छन् । बिहीबार दिउँसो ३ बजेर ४५ मिनेटको समयमा फारलाइनबाट हाइवेतर्फ आउँदै गरेको बा ८४ प ६०७० नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको कारले ठक्कर दिएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१५ भोर्लेका २२ वर्षीय सरण गोले घाइते भएका थिए । उनको हेटौँडा अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि पुरानो मेडिकल कलेज लगिएको छ । ठक्कर दिएर फरार भएको कार हेटौँडा–८ कमाने क्षेत्रमा पार्किङ अवस्थामा फेला पारेर नियन्त्रणमा लिइएको छ भने चालकको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
हेटाँैडा–१६ श्रीकृष्ण प्रणामी मन्दिर नजिक धरान–चतरा सडक खण्डमा मोटरसाइकल र स्कुटर एकआपसमा ठोक्किँदा दुई जना घाइते भएका छन् । बिहीबार साँझ ६ बजेर ३० मिनेटको समयमा हेटौँडाबाट ठुलोदमारतर्फ जाँदै गरेको मोटरसाइकल पेट्रोल सकिएर सडक छेउमा रोकिएको अवस्थामा सोही दिशाबाट आएको स्कुटरले ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा मोटरसाइकल चालक हेटौँडा–१६ हटियाका २८ वर्षीय बिकल थापा र स्कुटर चालक मकवानपुरगढी–१ बस्ने ४७ वर्षीय टेक बहादुर थिङको घाइते भएका छन् । घाइते दुवैको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ ।











