पर्याकविता प्रतियोगितामा सहभागी सुनसरीका किरण सिवा ।

हेटौँडा : साहित्य संगम मकवानपुरको ३९औं वार्षिकोत्सवको अवसरमा आयोजित तेस्रो राष्ट्रिय पर्याकविता उत्सव सुरु भएको छ। साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता तथा हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा शनिबार बिहान हेटौँडामा तेस्रो राष्ट्रिय पर्याकविता उत्सवको उद्घाटन कार्यक्रम भएको हो।

पर्याकविता उत्सवको अवसरमा खुला पर्याकविता प्रतियोगिता र नेपाली साहित्यमा पर्याचेतना विषयक बहस आयोजना गरिएको छ। प्रतियोगितामा सहभागी मध्ये उत्कृष्ट १० जना छनोट भएका छन्। प्रतियोगितामा सहभागिताका लागि १६४ कविता प्राप्त भएको साहित्य संगम मकवानपुरले जनाएको छ। यस्तै बहसमा ईश्वर कँडेल, विजय हितान र घनश्याम घिमिरे सहभागी हुनुहुन्छ भने बहसलाई साहित्यकार सुवास खनालले सहजीकरण गर्नुहुनेछ।