हेटौँडा : पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७, हर्दास्थित माटोकोरी आधारभूत विद्यालयले आयोजना गरेको शैक्षिक सामग्री प्रदर्शनी तथा खेलकुद कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार विद्यालयले वडाभित्र रहेका आठ वटै सामुदायिक विद्यालयको सहभागितामा कार्यक्रम गरेको विद्यालयका प्रधानाध्यापक शिव बोलखेले जानकारी दिनुभयो ।
विद्यालयले आयोजना गरेको शैक्षिक प्रदर्शनीमा आठवटै विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो । बालबालिकाले सुनेर भन्दा देखेर सिक्ने प्रक्रिया प्रभावकारी हुने भएकोले शैक्षिक प्रदर्शनीको कार्यक्रम आयोजना गरिएको प्रधानाध्यापक बोलखेको भनाइ छ । शिक्षकका लागि तालिम समेत आयोजना गरिएको थियो । यस्तै बालबालिकाको सिकाइमा प्रत्यक्ष रूपमा परिवर्तन आओस्, भनेर भन्दा देखेर बालबालिकाले सिक्ने क्षमताको वृद्धि होस्, शैक्षिक सामग्री प्रयोग गरेर शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
विद्यालयले प्रदर्शनीकै अवसरमा खेलकुद कार्यक्रमको समेत आयोजना गरेको थियो । विद्यालयले बल संकलन र बिस्कुट दौड प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगितामा आठवटै विद्यालयका १६ जना विद्यार्थीको सहभागिता रहेको थियो । बल सङ्कलन प्रतियोगितामा तीनकन्या आवि प्रथम, जन एकता आवि द्वितीय, उत्तम भावना आवि तृतीय र माटोकोरी आवि सान्त्वना भएको छ । त्यस्तै बिस्कुट दौडमा तीनकन्या आवि प्रथम, ज्ञान प्राप्त आवि द्वितीय, उत्तम भावना आवि तृतीय र पशुपति आवि सान्त्वना भएका छन् । खेलमा सहभागी खेलाडी सबैलाई मेडल प्रदान गरिएको थियो । प्रतियोगितामा सहभागी भएका विद्यालयलाई सम्मानपत्र प्रदान गरिएको थियो भने विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो ।
कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पवनसिंह गुरुङको सभाध्यक्षता तथा बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछानेको प्रमुख आतिथ्य रहेको थियो । कार्यक्रममा उपाध्यक्ष भक्तबहादुर खत्री, ७ नम्बर वडाध्यक्ष मानबहादुर सिन्तान र इस्थर बेन्जामिन मेमोरियल फाउन्डेसन का कार्यक्रम संयोजक बुद्धवीर लामाको विशिष्ट आतिथ्य रहेको थियो । आठ कक्षासम्म पठनपाठन हुने विद्यालयमा हाल २ सय २० जना विद्यार्थी अध्ययनरत छन् ।











