डा. प्रेम प्रसाद दंगाल ।

हेटौँडा : आगामी माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले डा. प्रेम प्रसाद दंगाललाई उम्मेदवार बनाउने भएको छ । बागमती प्रदेशतर्फको २ वटा सिटमध्ये एउटामा एमालेले डा. दंगाललाई उम्मेदवार बनाउने भएको हो ।

एमाले अध्यक्ष केपी शर्मा ओली निकट रहेका डा. दंगाल पार्टीका केन्द्रीय सदस्य समेत हुन् । नेपाली किसान आन्दोलनका रुपमा चिनिने डा. दंगालसँग राज्यका विभिन्न जिम्मेवारी सम्हालेको अनुभव छ । उनी यसअघि राष्ट्रिय योजना आयोगको सदस्य तथा २०७८ सालमा राष्ट्रिय किसान आयोगको अध्यक्ष भई काम गरिसकेका छन् । वैचारिक नेताको पहिचान बनाएका दंगाल अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष तथा एसियाली किसान मञ्चका अध्यक्ष समेत हुन् ।

राष्ट्रिय सभामा रिक्त हुन लागेका १८ सदस्यका लागि निर्वाचन प्रक्रिया अघि बढिरहेको छ । निर्वाचन आयोगका अनुसार पुस १९ गते मतदाता नामावली प्रकाशन गरी मंगलबार दावी विरोध उपर छानबिन गरेर अन्तिम नामावली सार्वजनिक भइसकेको छ । आयोगको कार्यतालिका अनुसार बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रम अनुसार डा. दंगालले बागमती प्रदेशको तर्फबाट उम्मेदवारी दर्ता गराउने तयारी गरेको हो । दंगाल उम्मेदवार बन्ने निश्चित भएकाले केहीबेरमा हेटौँडा आएर मनोनयन दर्ता गराउने कार्यक्रम रहेको छ ।