गाउँपालिकाका अध्यक्षलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिँदै ।

हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकाले सञ्चालन गरेको आइसोलेसन वार्डका लागि मनहरीका व्यवसायीले खाद्यान्न सामग्री सहयोग गरेका छन् । मकवानपुर खाद्य तथा किराना व्यवसायी संघ पश्चिम क्षेत्र समिति मनहरीले १० दिनलाई पुग्ने खाद्यान्न सामग्री दाल, चामल, बेसार, आलु, प्याज लगायतका खाद्यान्न सामग्री हस्तान्तरण गरिएको हो ।

आइसोलेसनमा रहेका ८ जनालाई करिब १० दिनलाई पुग्ने खाद्यान्न प्रदान गरिएको छ । कोरोना सङ्क्रमण पुष्टि भएर मनहरी बजार क्षेत्रका ८ व्यवसायीहरु नै आइसोलेसनमा उपचाररत छन् । व्यवसायीहरुले मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती र मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समिति मनहरीका अध्यक्ष नारायण सुवेदीलाई खाद्यान्न सामग्री हस्तान्तरण गरिको हो ।

मनहरी गाउँपालिकामा हालसम्म २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने ती मध्ये १३ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भइसकेका छन् । मनहरी गाउँपालिकाले सञ्चालन गरेको क्वारेन्टिनमा तीनजना छन् । उनीहरु साउदी अरबबाट आएको गाउँपालिकाका सिनियर अहेब ज्योतिराज लुइटेलले जानकारी दिनुभएको छ । कोरोना कहरपछि मनहरी गाउँपालिकामा देशभित्र, छिमेकी मुलुक भारत र तेस्रो मुलुकबाट तीन सय भन्दा बढी फर्किसकेको गाउँपालिकका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ ।