हेटौंडाः जेसीआई हेटौंडा र मकवानपुर जिल्ला बुद्धिचाल सङ्घको संयुक्त आयोजनामा अनलाइन बुद्धिचाल प्रतियोगिता हुने भएको छ । जेसीआई हेटौंडाको जेसीज सप्ताह २०२० अन्तर्गत पहिलो दिनको कार्यक्रमको रुपमा आगामी भदौ १३ गते राष्ट्रिय बुद्धिचाल प्रतियोगिता हुन लागेको हो । प्रतियोगितामा देशभरका एक सयभन्दा बढी सङ्ख्यामा प्रतियोगीको सहभागिता रहने नेपाल बुद्धिचाल सङ्घका सचिव धरमबहादुर लामाले जानकारी दिनुभएको छ ।

लकडाउनयता उल्लेख्य सङ्ख्यामा अनलाइन प्रतियोगिता भइरहेको जानकारी गराउनुहुँदै जेसीआई हेटौंडासँगको सहकार्यमा प्रतियोगिता आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा विभिन्न उमेर समूह, महिला तथा खुला गरी कुल २४ जना पुरस्कृत हुनेछन् । पुरस्कार वापत २१ हजार पाँच सय रुपैयाँ वितरण हुने बताइएको छ । स्विस लिगको आधारमा ११ राउण्ड खेल हुनेछ । कोरोनाको प्रभावका कारण यस वर्ष जेसीजले जेसीज सप्ताह पनि अनलाइनमार्फत नै गर्न लागेको जेसीआई हेटौंडाका उपाध्यक्ष एवम् बुद्धिचाल प्रतियोगिताका संयोजक विकेशलाल श्रेष्ठले जानकारी दिनुभएको छ ।

जेसीआई हेटौंडाका साधारण सदस्य समेत रहनुभएका मकवानपुर जिल्ला बुद्धिचाल सङ्घका सचिव नरेन्द्र भण्डारीले कोरोनाको कहरका बीचमा पनि अनलाइनमार्फत बुद्धिचाल प्रतियोगिताले खेलाडीलाई पुनर्ताजगी गर्नुका साथै मानसिक रुपमा स्फूर्त रहन प्रेरित गर्ने बताउनुहुन्छ । जेसीज र बुद्धिचाल सङ्घको सहकार्यमा हुन लागेको प्रतियोगितामा उल्लेख्य सङख्यामा व्यावसायिक खेलाडीको सहभागिता रहने अपेक्षा गरिएको सचिव भण्डारीले बताउनुभएको छ ।