नेपालको राजनीतिक इतिहासमा पछिल्ला केही वर्ष एउटा निर्णायक संक्रमणकालको रुपमा व्याख्या गर्न सकिन्छ । लामो समयसम्म देशमा तीन ठूला दलहरूको वर्चस्व नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका कारण मतदाताको विकल्प सीमित रह्यो । दलगत निष्ठा, नेतृत्वपूजा, जातीय–क्षेत्रीय प्राथमिकता तथा संगठनात्मक निर्भरता मूलधार राजनीतिको प्रमुख आधार बने । समय परिवर्तनसँगै शिक्षा, सूचनाको पहुँच, प्रविधि, अन्तर्राष्ट्रिय अनुभव र युवापुस्ताको अपेक्षामा बढ्दो परिवर्तनले परम्परागत दलप्रति असन्तुष्टि र विकल्प खोज्ने जनचाहना निर्माण गरिरहेको छ । यसै बीचमा राजनीतिक उदयका विभिन्न प्रयासहरू भए क्रान्तिका सपना बोकेका दलदेखि मुलुक परिवर्तन गर्ने नारा बोकेका अभियानसम्म तर तिनीहरूमध्ये धेरै टिकाउ बन्न सकेनन् । केही समयको उत्साह, सामाजिक समर्थन र असन्तुष्टीका तरंगसामु राजनीतिक अभियानहरू सुरुवात भए पनि संगठनात्मक अभ्यास, दीर्घकालीन रणनीति, नीति–नैतिकताको निरन्तरता र सुव्यवस्थित नेतृत्व अभ्यासको अभावले यी प्रयासहरू क्रमशः कमजोर हुँदै विश्राममा पुगे । ठीक यस्तै अवस्थामा नेपालमा नयाँ विकल्पको खोजी फेरि तीव्र बन्दै गएको छ । र यही परिप्रेक्ष्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील÷साझा पार्टीबीच भएको एकता एउटा निर्णायक मोडको रूपमा चर्चामा आएको छ ।
विवेकशील÷साझा पार्टीको जन्म नै सुसंस्कृत राजनीति र नागरिक नेतृत्वको परिकल्पनासँग बाँधिएको थियो । पार्टीले मुलुकको राजनीतिक चरित्र भ्रष्टाचार, अवसरवाद, अराजकता र संगठनात्मक अस्थिरताबाट ग्रस्त रहेको आरोप लगाउँदै वैकल्पिक नेतृत्वको खोजी गरिरहेको थियो । तर संगठनात्मक विस्तार, चुनावी गठबन्धनको चुनौती, सार्वजनिक भ्रम, संसाधन अभाव र नेतृत्व विवादका कारण पार्टी संरचनागत रूपमा सम्भावना बोके पनि तीव्र विस्तार हुन सकेन । अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी अचानक उदाएजस्तो देखिए पनि यसको उदय केवल दुर्घटनात्मक होइन । दीर्घकालीन असन्तुष्टि, ठूलो दलको निरन्तर विफलता, युवा वर्गको निराशा र एजेन्डा–आधारित भावनात्मक तरङ्गले रास्वपालाई राष्ट्रिय निर्वाचनमा उल्लेखनीय सफलता दिलायो । रास्वपाले आफूलाई पुरानो राजनीति विरुद्धको विद्रोह, पुराना दलहरूको विकल्प र प्रणालीगत परिवर्तनको प्रतिज्ञासहित स्थापित गर्यो । प्रारम्भिक उपलब्धिहरू र तीव्र जनसमर्थनले रास्वपालाई राष्ट्रिय चर्चा र अपेक्षाको केन्द्रमा स्थापित ग¥यो, तर राजनीतिक स्थिरता, पार्टी सभापतिलाई लागेको आरोप, संसदीय अनुभव, संगठनात्मक नियन्त्रण र नेतृत्व व्यवस्थापन जस्ता कठिन परीक्षा भने अझै उसका अगाडि उभिएका छन् ।
यिनै दुई राजनीतिक ध्रुव एकले वैचारिक सुसंस्कृत राजनीति र अर्कोले विद्रोही वैकल्पिक उभार बीच भएको एकता स्वभावतः ऐतिहासिक छ । तर ऐतिहासिक हुनु पर्याप्त शर्त होइन; निर्णायक सावित हुनु चुनौती हो । एकताको दस्तावेज हेर्दा विवेकशील÷साझाले रास्वपाको नाम, चुनाव चिह्न, झण्डा र संगठनलाई निःशर्त स्वीकारेर कार्यगत, वैचारिक र संगठनात्मक रूपमा समायोजन गरेको देखिन्छ । यसबाट स्पष्ट हुन्छ कि विवेकशील-साझाले मूल राजनीतिक मूल्य र दर्शनलाई निरन्तरता दिँदै अब घण्टी चिन्हभित्रबाट अभियान सञ्चालन गर्न रोजेको छ । प्रश्न उठ्छ के यसबाट वैकल्पिक राजनीतिक प्रवृत्तिहरू एकीकृत भएर ठूलो जनआन्दोलनको स्वरूप लिन्छ ? अथवा विवेकशील÷साझा केवल रास्वपाको संगठनमा विलय हुने एउटा घटनात्मक प्रक्रियामा सीमित रहन्छ ?
यही मोडमा विश्लेषण अत्यन्तै महत्वपूर्ण हुन्छ । नेपालमा नयाँ राजनीतिक दलहरूको उदय नौलो होइन । नयाँ शक्ति दल, जनमत पार्टी, बाम मोर्चाहरू, स्थानीय राजनीतिक अभियानहरू, क्षेत्रीय दलहरू सबै कुनै न कुनै समयमा वैकल्पिकताको आशा र उत्साह बोकेर आएका हुन् । तर नौलो देखिने दलहरू धेरै पटक संगठनात्मक अभाव, संसदीय कौशल, नेतृत्व विवाद, राजनीतिक दबाब, आर्थिक स्रोतअभाव र मूल निर्वाचन रणनीति अभावका कारण प्रारम्भिक उत्साहपछि कमजोर बन्दै गए । नयाँ दलहरूका लागि सबैभन्दा कठिन परीक्षा जनविश्वास जोगाउनु हो, जुन नाराभन्दा व्यवहारमा प्रमाणित गर्नुपर्छ । त्यसैले रास्वपा र विवेकशील साझाको एकताले देशमा ठूला दललाई चुनौती दिने क्षमता राखे पनि त्यसले आफूलाई पुराना दलहरूको नयाँ संस्करण बन्नबाट जोगाउनै पर्छ । जनताले विकल्प खोजिरहेका छन्, तर कुनै पनि पार्टी केवल असन्तुष्टिका तरंगमा सवार भएर दीर्घकालीन राजनीतिक शक्ति बन्न सक्दैन ।
युवापुस्ताको राजनीतिमा प्रवेश, जनमतको स्वतन्त्रता, सूचनाको तीव्र प्रसार र सामाजिक परिवर्तनका कारण नेपालको राजनीतिमा पोस्ट–जेनरेशन पोलिटिक्स अर्थात् पिँढीमाथि नेतृत्व परिवर्तनको माग बढ्दो छ । जनताले अब दलको परम्परा हैन परिणाम, क्षमता र जवाफदेहितामा आधारित पार्टी खोजिरहेका छन् । यही कारण, यदि रास्वपा र विवेकशील साझाको एकता केवल नेतृत्वको संख्यात्मक विस्तार नभई वैचारिक एवं कार्यक्रमगत मूल्यको समायोजनमा रुपान्तरित हुन सफल भयो भने यसबाट एक सशक्त वैकल्पिक राजनीतिक मोर्चा जन्मिन सक्छ । तर यदि यस एकताले संगठन विस्तार, नीति स्पष्टता, दीर्घकालीन रणनीति, कार्यकर्ता सुदृढीकरण, समावेशी नेतृत्व, आन्तरिक लोकतन्त्र र नैतिक सुसंस्कृत व्यवहारलाई प्राथमिकतामा राख्न सकेन भने अवसर असफलतामा बदलिन धेरै समय लाग्ने छैन ।
नयाँ राजनीतिक दलहरू वा नयाँ गठबन्धनहरू तबमात्र टिकाउ हुन्छन्, जब तिनीहरू तीन आधारभूत स्तम्भमा बलियो हुन्छ ः स्पष्ट विचारधारा, संगठनात्मक सुदृढीकरण र व्यवस्थापन क्षमतासहित दीर्घकालीन शासन दृष्टिकोण । जर्मनीको ग्रीन्स पार्टी, फ्रान्सको एन मार्श, इटालीको फाइभ स्टार मूभमेन्ट, चिलीको फ्रन्ट एम्प्लियो, स्पेनको पोडेमोस यी सबै आन्दोलनहरू प्रारम्भमा युवा अपेक्षा, भ्रष्टाचार विरोध, नयाँ नेतृत्व र पारम्परिक दलको विरुद्धको भावनाले उठे । कतिपय सफल भए, तर कतिपय असफल नै भए । असफल दलहरूको कारण एउटै उत्साह थियो तर संगठन थिएन । मूल्य थियो तर नेतृत्व विवादले क्षति पु¥यायो । जनभावना थियो तर दीर्घकालीन शासन तयारी थिएन । सफल दलहरूको पक्षमा त्यसको उल्टो व्यापक संगठन, जिल्ला स्थानीय जडमा सक्रियता, स्पष्ट नीति, पार्टीभित्र सुदृढ लोकतान्त्रिक अभ्यास र निरन्तरता । नीति र नारा बीचको दूरी घटेपछि मात्रै मतदाताले नयाँ दललाई स्थिर विकल्पका रूपमा स्वीकार गर्छन् ।
नेपालमा आज सार्वजनिक असन्तुष्टि सर्वाधिक उच्च अवस्थामा छ । महँगी, बेरोजगारी, भ्रष्टाचार, दलदलमा फसेको आर्थिक नीति, रोजगारीको अभाव, युवाहरूको विदेश निर्भरता, स्वास्थ्य शिक्षामा निजीकरण र असमानता, न्याय क्षेत्रमा अविश्वास यी सबैले सामान्य नागरिकमा राष्ट्रिय निराशा बढाइरहेको छ । अर्कोतर्फ, परम्परागत दलहरू नेतृत्व संकट, आन्तरिक गुटबन्दी, सत्ताकेन्द्रितता, उत्तरदायित्वहीनता र जनतासँगको दूरीमा फसेका छन् । कांग्रेस र एमालेको द्वन्द्व र सहकार्यबीचको पुनरावृत्तिले धेरैलाई भारतको इतिहास सम्झाइरहेको छ जहाँ पुराना दलहरू केवल चिनारीको बलमा टिकी रहन्छन्, जबकि नयाँ मतदाता वर्गले तिनलाई अस्वीकार गरिरहेका हुन्छन् । नेपालमा आज कैयौं कार्यकर्ताले आफ्नो दललाई भोट दिन्छन्, तर आम जनताले भक्तिभावका साथ भोट दिने संरचना भत्किँदै गएको छ । यही कारण, यदि रास्वपा र विवेकशील साझाको एकताले परिवर्तनको विश्वसनीय संरचना निर्माण गर्यो भने यसले ठूलो जनसमर्थन प्राप्त गर्न सक्छ । तर परिवर्तनका नाममा केवल नयाँ झण्डा उठाएर काम चलाउने परिपाटी अपनाए जनताको क्षमाशीलता धेरै लामो हुँदैन ।
यो पनि सत्य हो कि वैकल्पिक शक्ति निर्माण शब्दको खेल होइन संगठनात्मक तथा वैचारिक युद्ध हो । सशक्त वैकल्पिक दल बन्ने हो भने तिनीहरूले केही त्याग र केही साहस देखाउनै पर्छ । संगठन विस्तारमा धैर्य चाहिन्छ, सरकारमा जिम्मेवारी पाए गम्भीरता चाहिन्छ, विरोधमा हुँदा संयमता चाहिन्छ । नयाँ पुस्ताले भावनात्मक भाषण सुन्न सक्छ, तर उसलाई व्यवहारिक परिणाम चाहिन्छ । वैकल्पिक दलहरू पुराना दलबाट फरक केमा ? त्यो केवल नारा, उमेर वा जोशमा होइन, त्यसको राजनीति अभ्यासमा देखिनुपर्छ । भ्रष्टाचार नदोहोर्याउने, पार्टीभित्र नेतृत्व परिवर्तन सहज बनाउने, नीति वैज्ञानिक बनाउने, विशेषज्ञ र युवा संयोजनमा नीति निर्माण गर्ने, जिम्मेवारी नलिनेलाई संरक्षण नगर्ने, कार्यकर्ता होइन नागरिक अभिमुख शासन गर्ने, यिनै मूल्य नै नयाँ दलको पहिचान हुन् । यदि कुनै दल या एकता यिनै मूल्यमा अडियो भने मात्र त्यहाँबाट वैकल्पिक राजनीतिक क्रान्ति जन्मन्छ । अन्यथा, इतिहास देखाउँछ नयाँ पार्टी पुरानै शैलीमा चलेपछि जनताले त्यसलाई अस्वीकार गर्न धेरै समय लाग्दैन ।
रास्वपा र विवेकशील साझाको एकता अब ऐतिहासिक अवसर हो । यसले देशलाई कि नयाँ राजनीतिक बाटो दिन सक्छ वा अर्को निराशा थप्न सक्छ । पूर्ण वैकल्पिक शक्ति बन्नका लागि उनीहरूले अब पाँच मार्गलाई आधार मान्नै पर्छ (१) संगठन ग्रामीण तहसम्म विस्तार, (२) आन्तरिक लोकतन्त्र र नेतृत्व उत्तरदायित्व, (३) विशेषज्ञ आधारित नीतिनिर्माण र परिणाममुखी एजेन्डा, (४) भ्रष्टाचार रहित व्यवहारिक राजनीति र पारदर्शी शासन शैली, (५) मतदातासँग दीर्घकालीन विश्वास सम्बन्ध । यो मार्ग केवल सैद्धान्तिक मात्र होईन आर्थिक, सामाजिक, शासन र कानुनी दृष्टिबाट कडा अभ्यासको माग गर्छ ।
नेपालको राजनीति अब पिँढीगत संक्रमणको मोडमा उभिएको छ । पुराना दलहरू भारतको कांग्रेस–आइ जस्तै केवल कार्यकर्ताको भोटमा टिकिरहन सक्छन्, तर व्यापक जनमतले अब स्वतन्त्र, पारदर्शी, वैज्ञानिक, असल शासनमा आधारित पक्षलाई रोज्न सक्ने क्षमता राख्छ । यही क्षण निर्णायक छ यदि नयाँ एकीकृत पार्टीले जिम्मेवारीपूर्वक काम ग¥यो भने अगामी ५–१० वर्षमा मुलुकको सत्ता संरचना परिवर्तन गर्न सक्ने सम्भावना छ । तर यदि नेतृत्व अहंकार, स्वार्थ, प्रचारवाद र असंगठित अभ्यासमा भासियो भने यो एकता पनि अनेक विफल प्रयासहरूमध्ये अर्को मात्र कहानी बन्न पुग्नेछ ।
परिवर्तनको राजनीति चिच्याएर होइन, चलाएर देखाउनुपर्छ । मतदाता अब गफ होइन, परिणाम खोजिरहेको छ । त्यसैले रास्वपा विवेकशील साझाको एकताले इतिहास लेख्न सक्छ । अब यो पार्टीले उज्यालो नेपाल, बालेन साह लगायत अरु सामाजिक र राजनीतिक अभियन्तालाई पनि समेटेर एउटा बलियो वैकल्पिक शक्ति निर्माण गर्नुपर्छ । यदि यि सबै बीच कार्यगत एकता, गठबन्धन वा पार्टी एकता नहुने हो भने र एकआपस मै प्रतिस्पर्धा हुने अवस्था सिर्जना भएमा फेरि पनि पुराना दलहरू सत्तामा फर्किने सम्भावना बढ्छ । त्यसैले जोखिम पनि छ, सम्भावना पनि छ । तर इतिहासलाई परिवर्तन गर्ने जिम्मा नेतृत्वको हातमा मात्र होइन मतदाताको चेतना, कार्यकर्ताको अनुशासन र लोकतान्त्रिक मूल्यका निरन्तरतामा पनि पर्नेछ । अस्तु ।











