हेटौंडा : मकवानपुरको बकैया गाउँपालिका वडा नं ५ र ६ जोड्ने पुल बुधबार शिलान्यास गरिएको छ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कर्मचुली जुइना सुकौरा खोला मल्टिसेल बक्स पुल शिलान्यास गर्नुभएको हो ।
बागमती प्रदेश सरकारको ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँ लागतमा १ सय २० मिटर लामो पुल निर्माण हुन लागेको हो । पुल निर्माणका लागि ८ करोड २४ लाख ६८ हजार ९ सय ८५ रुपैयाँ लागत अनुमान गरिएकोमा श्री बिन्ध्याचल निर्माण सेवा कम्पनीले २०८२ असार ८ गते ६ करोड ८९ लाख ४९ हजार ७ सय ५४ रुपैयाँमा ठेक्का सम्झौता गरेको हो । आयोजनाको काम २०८४ असार ७ गते सम्ममा सम्पन्न गरिसक्नुपर्ने छ ।
पुल निर्माणपश्चात् ८ सय घरधुरी लाभान्वित हुनेछन् । पुल नहुँदा बकैया–६ का विद्यार्थीहरुलाई वर्षाको समयमा विद्यालय आवतजावत गर्नसमेत समस्या भएको थियो । पुल निर्माणपश्चात् किसान, विद्यार्थी, स्थानीय तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय पर्यटन पार्कका लागि सहज हुनेछ ।
पुल शिलान्यासको क्रममा मुख्यमन्त्री बानियाँले समयमा नै कार्य सम्पन्न गर्न निर्माण कम्पनीलाई निर्देशन दिनुभएको छ । संघीयताले गरिबलाई धनि बन्ने व्यवस्था ल्याई विभिन्न स्थानमा विकासले गति लिएको उहाँको दाबी थियो । जेनजी पुस्ताको अन्दोलनले देशमा जनधनको क्षति भएको बताउँदै उहाँले युवा पुस्ताको मागलाई सम्बोधन गर्दै प्रदेशमा भ्रष्टाचारमुक्त गर्दै सुशासनयुक्त समाज निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाले विशेष परिस्थितिमा बजेट विनियोजन भई पुल निर्माण कार्य सुरु भएको जानकारी गराउँदै पुल समयमा नै निर्माण सम्पन्न हुने प्रतिबद्धता व्यक्त गर्नुभयो । आर्थिक, सामाजिक रुपान्तरणको लागि उत्पादनसँग जोडिन आवश्यक रहेको उहाँको धारणा रहेको छ ।
पुल शिलान्यास कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी, बकैया गाउँपालिका अध्यक्ष धर्मराज लामिछाने, निवर्तमान गाउँपालिका अध्यक्ष दामोदर खनाल, निवर्तमान उपाध्यक्ष सरला बोलखेलगायत विभिन्न राजनैतिक दलका व्यक्तित्व, समाजसेवी, स्थानीयहरुको उपस्थिति रहेको थियो ।











