दशकौंदेखि चर्चामा सीमित बनिरहेको हेटौंडा बजार क्षेत्रका राजमार्ग विस्तारको चर्चा फेरि सुरु भएको छ । हेटौंडा बजार भएर जाने पूर्वपश्चिम (महेन्द्र राजमार्ग) र त्रिभुवन राजपथको अतिक्रमण हटाएर फराकिलो बनाउन पुनः सूचना प्रकाशन भएपछि चर्चा सुरु भएको हो । हेटौंडा बजारमा राष्ट्रिय राजमार्गको क्षेत्राधिकारभित्र पर्ने दायाँबायाँका २५ मिटर भित्रका घरटहरा खाली गरेर सडक चौडा पार्ने प्रयास निरन्तर असफल भइरहेको अवस्थामा फेरि सूचना प्रकाशन भएपछि चर्चासँगै विभिन्न अड्कल भइरहेको छ । सडकको दायाँबायाँ २५ मिटर सीमाभित्रका घरधनी र व्यवसायीको विरोध र राजनीतिक स्वार्थका कारण सडक विस्तार हुन नसकेको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाले शुक्रबार सडक सीमा खाली गर्न १५ दिनको म्याद दिएर सूचना जारी गरेको छ । कार्यालयले जारी गरेको सार्वजनिक सूचनामा हेटौंडाको रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म र बुद्धचोकदेखि सामरी पुलसम्म सडकको केन्द्रबाट दायाँ–बायाँ २५–२५ गज (करिब २२.८६ मिटर) भित्रका सम्पूर्ण स्थायी र अस्थायी संरचना हटाउन १५ दिनको समयसीमा तोकेको छ । तोकिएको समयभित्र नहटाएमा कार्यालय आफैंले भत्काउने र त्यसको सम्पूर्ण खर्च सम्बन्धित व्यक्तिबाटै असुलउपर गर्ने चेतावनीसमेत दिएको छ । बिहीबारमात्र संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङ, सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायतले उक्त विषयमा हेटौंडामा छलफल गरेपछि सडक डिभिजन कार्यालयले भोलिपल्टै सूचना निकालेको छ । बजार क्षेत्रको मुख्य सडक विस्तारमा सघाउने निर्णय गरिसकेको हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामासहित वडा अध्यक्ष र केही स्थानीयहरुसँगको छलफललगत्तै अतिक्रमण हटाउन बजेट व्यवस्थापन गर्ने प्रतिबद्धतापछि कार्यालयले सूचना निकालेको हो ।

हेटौंडा बजार क्षेत्रको सडक सीमा खाली गर्न डिभिजन सडक कार्यालय हेटौंडाले वर्षेनि सूचना जारी गर्ने गरेको भए पनि मन्त्री, सचिव र सडक विभागका महानिर्देशकसँगको छलफललगत्तै सूचना जारी हुनुलाई अर्थपूर्णरुपमा हेर्न सकिन्छ । अहिले कुनै पनि राजनीतिक दल सरकारमा नरहेको अवस्थामा सडक विस्तारका लागि सबैभन्दा अनुकूल समय देखिएको छ । विगतमा सडक डिभिजनले सडक सीमाभित्रका संरचना भत्काउन सुरु गर्दा राजनीतिक दलहरुकै संरक्षणमा रोकिने गरेको भए पनि अहिले राजनीतिक दबाब कमजोर बन्ने स्पष्ट छ । सडक विस्तार हेटौंडाको पहिलो आवश्यकता बनिरहेको र पूर्वपश्चिम राजमार्ग एसियन हाइवेको रुपमा विस्तार भइरहेको सन्दर्भमा हेटौंडा बजार क्षेत्रको मुख्य सडक विस्तार हुनैपर्छ ।

देशका अन्य क्षेत्रमा अतिक्रमण हटाएर सडक विस्तार भइरहेको अवस्थामा हेटौंडा बजार क्षेत्रमा पनि सडक विस्तार हुने कुरा लगभग निश्चित छ । सडक फराकिलो हुँदा वर्षौंदेखि प्रयोग गरिरहेको संरचना भत्कने भएपछि बिरोध हुनु पनि स्वभाविक हो । राजमार्गको २५ मिटर सीमाभित्र पुस्तौं बिताएका र हातमा लालपूर्जा बोकेर बसेकाहरुले सडक विस्तारको विपक्षमा दिएका पटकपटकको रिटमा सर्वोच्च अदालतले २५ गज सडक सीमा कायम गर्न कुनै बाधा नहुने फैसला गरिसकेको अवस्थामा सरकारले कानुनबमोजिम सडक अतिक्रमण हटाउन अग्रसर हुनु पनि स्वभाविक हो । सडक विस्तारको सूचना जारी भएपछि विगतमा जस्तै केही दिन चर्चामा मात्र सीमित हुन्छ कि यस पटक साँच्चै विस्तार हुन्छ ? अहिले नै भन्न सकिने अवस्था छैन ।