हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको विभिन्न वडाबाट बालश्रममा संलग्न ५ जना बालकको उद्दार गरिएको छ । अनुगमनको क्रममा विभिन्न व्यवसायिक संस्थाबाट बालश्रममा संलग्न रहेका बालहरुलाई उद्दार गरिएको हो ।
बालमैत्री पालिका घोषणा भइसकेको हेटौंडा उपमहानगरपालिकामा आइतबार बालश्रम अनुगमन गरिएको थियो । हेटौंडाको २, ४, ११ र १९ नम्बर वडामा रहेका मोटरसाईकल वर्कशप, होटल, क्याण्डी उत्पादन कम्पनीलगायतमा अनुगमन गरिएको सिविन बालहेल्पलाइन मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले जानकारी दिनुभएकोे छ ।
अनुगमनका क्रममा हेटौंडा–११ मा रहेको अब्दुलाल बडी विल्डर वर्कशपमा सात महिनादेखि कार्यरत १५ वर्षीय बालक, हेटौंडा–४ स्थित समिर मोटरसाइकल वर्कशपमा एक वर्षदेखि कार्यरत १२ र १५ वर्षीय बालक, हेटौंडा–११ मा रहेको उद्योगबाट उत्पादित कटन क्याण्डी हेटौंडा–४ बाट बेच्दै गरेको अवस्थामा १० वर्षीय बालकलाई उद्दार गरिएको छ । हेटौंडा–१९ को एक किराना पसल र हेटौंडा–२ को एक होटलमा बालश्रममा रहेको सूचना पाए पनि अनुगमनको क्रममा बालबालिका नभेटिएको उहाँले जानकारी दिनुभयो ।
यस्तै, मंगलबार साँझ उपमहाननगर प्रहरीले हेटौंडा–२, कांग्रेसचोकमा रहेको केशरी फर्निचरबाट अन्दाजी १५ वर्षीय बालकलाई उद्दार गरेर श्रम कार्यालय पठाएको कार्यालय प्रमुख रुद्रनारायण शाहले जानकारी दिनुभयो । अनुगमनका क्रममा उद्दार गरिएको अब्दुलाल वर्कशपबाट उद्दार गरिएको बालकको जन्मदर्तामा १८ वर्ष पूरा भएको पाइएको शाहले जानकारी दिनुभयो ।
श्रम कार्यालयका प्रमुख शाहका अनुसार बालश्रममा लगाउने रोजगारदाताहरुलाई १ लाख ७० हजार जरिवाना र २२ हजार रुपैयाँ क्षतिपूर्ति तिराइएको छ । कटन क्याण्डी उत्पादकलाई ५० हजार, समिर वर्कशपलाई ५० हजार, अब्दुलाल वर्कशपलाई २० हजार र केशरी फर्निचरलाई ५० हजार जरिवाना गराइएको छ ।
श्रम कार्यालयले बालबालिकाको उमेर समूहअनुसार जरिवाना गराउने गरेको छ । बालबालिकाले काम गरेबापत मासिक ३२ हजारका दरले क्षतिपूर्ति दिनुपर्नेछ । उद्दार गरिएका बालकहरुलाई श्रम कार्यालय पठाउने गरिएको सिविन बाल हेल्पलाइनका संयोजक ज्ञवालीले जानकारी दिनुभएकोे छ । उद्दार गरिएका बालकहरु चितवन, रौतहट, पर्सा र छिमेकी मुलुक भारतको रहेका छन् । ६ वटा ग्यारेज, ३ वटा होटल र एक किराना पसलमा अनुगमन गरिएको थियो ।
अनुगमनमा श्रम तथा रोजगार मार्यालयकी शर्मिला राई, हेटौंडा उपमहानगरपालिका बाल कल्याण अधिकृत बिना थिङ, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि दीपककुमार पौडेल, नेपाल प्रहरीका प्रतिनिधिहरु, बाल हेल्पलाइनका कार्यक्रम अधिकृत सम्झना अधिकारीलगायतको सहभागिता रहेको थियो ।










