नेपालका राजनीतिक दलहरुमा थुप्रै समस्या देखिने गरेको छ । दलभित्र देखिने समस्यामध्ये गुटबन्दी एउटा महत्वपूर्ण र सदावहार समस्या हो । नयाँ–पुराना, साना–ठूला, राष्ट्रिय–क्षेत्रीय सबैजसो राजनीतिक दललाई चरम गुटबन्दीले गाँज्ने गरेको छ । अधिकांश राजनीतिक दलमा कम्तिमा पनि संस्थापन पक्ष र इतर पक्षबिच गुटबन्दी हुने गरेको छ । शीर्ष नेतृत्वबिच देखिने गरेको असमझदारी र नेतृत्वको होडबाजीका कारण दलहरुमा गुटबन्दी हुने गरेको छ । शीष नेतृत्वको पक्ष–विपक्षमा पार्टीका तल्लो तहसम्मका नेता, कार्यकर्ता विभाजित हुँदा पार्टी कमजोर बन्नेमात्र नभई बेलाबेलामा विभाजन वा फुटसमेत हुने गरेको थुप्रै उदाहरण छन् । ३ वर्ष अघिको निर्वाचनबाट वैकल्पिक राजनीतिक शक्तिको रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पनि गुटबन्दी र आन्तरिक कलहको मारमा परेको छ ।

रास्वपाले आसन्न निर्वाचनलाई लक्षित गरी गत शुक्रबारबाट चितवनमा केन्द्रीय समितको विस्तारित बैठक सम्पन्न गरेको छ । रास्वपाको उक्त बैठकमा पनि पार्टीभित्र गुटबन्दी र आन्तरिक कलहलाई उजागर गरेको छ । बैठकको समापन कार्यक्रममा रास्वपाको एक केन्द्रीय सदस्यले पार्टीभित्रको कुरा बाहिर छरपष्ट भएको गुनासो गरेका हुन् । पार्टीका शीर्ष नेतृत्व नै पार्टीको हित विपरित मिडियाबाजीमा उत्रिएको उनको जिकिर थियो । पार्टीमा पनि कुर्सीकै लडाईं चलिरहेको भन्दै उनले नेतृत्व परिवर्तनको माग उपयुक्त नभएको बताए । पार्टीको महाधिवेशन र नेतृत्व परिवर्तन माग गर्नेहरुप्रति लक्षित गर्दै ती केन्द्रीय सदस्यले अहिल्यै रवि लामिछानेको विकल्प खोज्नु उचित नभएको टिप्पणी गरे । मुलुकका पुराना दलहरुको तुलनामा नीति, विधि र पद्दतिबाट चल्न खोजेको रास्वपा पनि गुटबन्दी र आन्तरिक कलहले कमजोर बन्ने सम्भावना चितवनको विस्तारित बैठकले देखाएको छ ।

पार्टी स्थापनाको करिब ३ वर्षमा रास्वपामा थुप्रै नेता, कार्यकर्ता भित्रने र बाहिरिने क्रम चलिसकेको छ । अन्य दलहरुका असन्तुष्ट नेता, कार्यकर्ता रास्वपा प्रवेश गर्ने र रास्वपामा मतभेद भएर बाहिरिनेको संख्या पनि उल्लेख्य छ । पार्टीले गरेको कारबाहीको नाममा होस् वा स्वेच्छिकरुपमा रास्वपाबाट नेता बाहिरिनुले पार्टीभित्रको आन्तरिक कलहलाई उजागर गर्दछ । पार्टीको मुख्य नेतृत्व लामो समयदेखि थुनामा रहँदा रास्वपा जनताको अपेक्षाअनुरुप चल्न नसकेको हुनसक्छ । नेतृत्वविहीन अवस्थाको अन्त्य गरेर पार्टीलाई सबल र सशक्तरुपमा अघि बढाउनकै एउटा पक्षले पार्टी पुनर्गठन र महाधिवेशन माग गर्दा अर्को पक्षको त्यसको प्रतिरोधमा उत्रिए । यसले रास्वपाभित्र गुटबन्दी र आन्तरिक कलह देखाएको छ । विस्तारित बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदन, फरक मत र नेतृत्वको विषयमा देखिएको मतान्तरले पार्टीभित्र आन्तरिक कलहलाई स्पष्ट पारेको हो ।

देशभरबाट ५ सयभन्दा बढी प्रतिनिधि सहभागी बैठकमा एजेण्डामा भन्दा पनि गुटगत छलफल बढी भएको थियो । पार्टीको आगामी रणनीति, सांगठनिक संरचना र चुनावी एजेण्डाका विषयमा गहन छलफलमा नेताहरुको सहभागिता न्यून थियो । पार्टीको केन्द्रीय नेतृत्व प्रदेश र जिल्लागत नेताहरुको छलफलमा व्यस्त भएका थिए । पार्टी स्थापना कालदेखि केन्द्रीय नेतृत्वमा रहेका नेताहरुबिच नै सम्बन्ध राम्रो नभएको बैठकका गतिविधिले देखाएको छ । रास्वपाभित्र वर्तमान नेतृत्वलाई नै निरन्तरता दिनुपर्ने र नेतृत्व परिवर्तन गर्नुपर्ने पक्षबिचको मतभेद र गुटबन्दीले पार्टी कमजोर बन्ने निश्चित छ । पुराना दलममा जस्तै पार्टीभित्र अन्तरद्वन्द्व र खुट्टा तान्ने प्रवृत्ति कायमै रहने हो भने आफूलाई वैकल्पिक शक्ति दावी गर्ने रास्वपाको राजनीतिक भविष्य पनि अन्योलमा पर्ने देखिन्छ ।