हेटौंडाः हेटौंडामा जारी एन्फा प्रेसिडेन्ट लिगमा सोमबार भएको खेलमा नव जनजागृति युवा क्लब र काँक्रेविहार युथ क्लब विजयी भएका छन् । सोमबार भएको पहिलो खेलमा नव जनजागृति युवा क्लबले गाईघाट फुटबल क्लबलाई र दोस्रो खेलमा काक्रेविहार युथ क्लब र टाइगर्स टिम टिकाताललाई हराएको हो ।
नव जनजागृतिले गाईघाट फुटबल क्लबलाई २–० गोल अन्तरले हराएको छ । नव जनजागृति युवा क्लबको लागि खेलको ५७ औँ मिनेटमा रुजन न्यौपाने र ६२ औँ मिनेटमा विकास दर्लामी मगरले १÷१ गोल गरेका हुन् । गोल नगरे पनि उत्कृष्ट प्रदर्शन गर्दै प्लेयर अफ द म्याच बनेका नव जनजागृतिका अविनाश स्याङ्तानले ५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
यसअघि नव जनजागृति युवा क्लबले शनिबार प्रतियोगिताको आफ्नो पहिलो खेलमा काक्रेविहार युथ क्लबसँग १/१ गोलको बराबरीमा खेल्दै अंक बाँडेको थियो । गाईघाट फुटबल क्लब बिहीबार आफ्नो पहिलो खेलमा टाइगर्स टिम टिकातालसँग २–१ गोल अन्तरले पराजित भएको थियो । आज मंगलबारको खेल काक्रेविहार युथ क्लब र टाइगर्स टिम बीच हुँदैछ ।
यस्तै, दोस्रो खेलमा काक्रेविहार युथ क्लबले र टाइगर्स टिम टिकाताललाई १–० गोल अन्तरले पराजित गरेको हो । रोमन भुजेलले गोल गरेसँगै काक्रेविहारले प्रतियोगितामा दोस्रो जित हात पारेको छ । यसअघि काक्रे विहार बिहिबार भएको खेलमा हैरान्स क्लबलाई ३–२ गोल अन्तरले हराएको थियो । टाइगर्स टिमले पनि प्रतियोगितामा अहिलेसम्म दुई जित निकालेको छ । टाइगर्स टिमले पनि यसअघि शनिबार भएको खेलमा हैरान्स क्लबलाई ५–२ गोल अन्तरले हराएको थियो ।











