प्रदेशसभा बैठक सञ्चालनका लागि प्रस्तावित भवन ।

हेटौँडा : लामो समयदेखि अवरुद्ध प्रदेश सभाको बैठक तिहार अघि नै सञ्चालन गर्ने तयारी थालिएको छ । प्रदेश सरकारले हेटौँडा–२ स्थित मुख्यमन्त्री कार्यालयको सभाहलमा बैठक राख्ने तयारी गरेको हो ।

प्रदेश सभाको मुख्य भवन क्षतिग्रस्त भएपछि तत्कालका लागि हेटौंडा उपमहानगरपालिका कार्यालय पछाडिको भवनमा अस्थायी रुपमा बैठक सञ्चालन गर्न लागिएको हो । जेन जी आन्दोलनका क्रममा क्षतिग्रस्त बनेको उक्त हललाई सामान्य मर्मत गरेर प्रदेशसभा संचालनको तयारी गरेको हो । हाल उक्त भवनलाई सरसफाई र व्यवस्थापन गर्ने काम भइरहेको छ । जेन जी आन्दोलनका क्रममा आगजनीबाट क्षति पुगेको उक्त भवनको अधिकांश भाग जलेका छन् । अल्मोनियम र युपिभिसी प्रोफाइलबाट निर्माण गरिएको उक्त भवनको सरसफाइ र विद्युतीकरणको काम गरेर बैठक चलाउने तयारीमा सरकार अघि बढेको हो ।

सहरी विकास तथा भवन कार्यालयले सो सभाहलको व्यवस्थापनको काम गरिरहेको छ । जलेका भागहरु हटाएर रंगरोगन गर्ने र अस्थायी प्रकृतिको व्यवस्थापनमा कार्यालयले काम गरिरहेको हो । कार्यालयका प्रमुख सुवोध अधिकारीका अनुसार सो भवनमामा जलेका स्थानमा सफा गरेर रंग लगाउने र विद्युतीकरणको काम गर्ने तयारी रहेको छ । सोमबारसम्ममा सबै काम सक्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । आगलागीका कारण क्षतिग्रस्त बनेको बागमती प्रदेश सभाको भवन मर्मत गरी पुनः बैठक सञ्चालनको तयारी थालिएको छ । प्रदेश सभाका सचिव रामकुमार पौडेलले यही असोज अन्तिम तिर बैठक बोलाउने गरी अनौपचारिक छलफल अघि बढाएको हो । यद्यपि, दलहरुको केन्द्रीय तहमा समेत बैठकहरू रहेकाले अन्तिम मिति भने तय भइसकेको छैन । सरकार र उपसभामुख अप्सरा चापागाईले दलहरुसँगको परामर्शपछि बैठकको मिति निश्चित हुने प्रदेश सभा सचिवालय स्रोतले जनाएको छ ।

सोही भवनलाई सामान्य मर्मतसम्भार गरेर बैठक बस्न योग्य बनाउने प्रयास भइरहेको सचिव पौडेलले बताउनुभयो । भौतिक पूर्वाधार मन्त्रालयको सहयोगमा सरसफाइ र रङरोगनको काम अघि बढेको र बैठक सञ्चालनका लागि आवश्यक पर्ने फर्निचर र अन्य प्राविधिक सामग्री तत्कालका लागि भाडामा लिएर वा अस्थायी रुपमा व्यवस्थापन गर्ने तयारी गरिएको उहाँको भनाई छ । आगलागीले सचिवालयका महत्वपूर्ण कागजात, कम्प्युटर र फर्निचर नष्ट भए पनि केही ल्यापटप र डेस्कटप कम्प्युटरहरु बचेकाले त्यसैबाट काम–कारबाही पुनः सुरु गरिएको उहाँले जानकारी दिनुभयो । संसदीय दलहरुले प्रयोग गर्दै आएको भवनमा सचिवालयको कार्यालय व्यवस्थापन गरी काम भइरहेको उहाँले बताउनुभयो ।

‘आगलागीले क्षति पुगेको सभाहललाई नै सामान्य मर्मतसम्भार र सरसफाइ गरी बैठक बस्न योग्य बनाउँदैछौं । हाम्रो प्रयास असोज अन्तिम सातासम्ममा बैठक बोलाउने भन्ने छ । यद्यपि दलहरुको केन्द्रीय तहमा पनि कार्यक्रमहरु रहेकाले अन्तिम मिति तय गर्न बाँकी छ । उपसभामुख र दलका नेताहरुसँगको परामर्शपछि हामी चाँडै नै औपचारिक मिति घोषणा गर्नेछौं ।’ उहाँले भन्नुभयो । उक्त अस्थायी व्यवस्थापनका लागि आवश्यक टेबल, कुर्सी तथा माइक जस्ता प्राविधिक सामग्री जुटाउन करिब १० लाख रुपैयाँभन्दा कम खर्च लाग्ने प्रारम्भिक अनुमान गरिएको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले जानकारी दिनुभयो । तत्कालका लागि सो व्यवस्था गरिएको र दीर्घकालीन समाधानका लागि पुरानै भवन मर्मत गर्ने विषयमा समेत छलफल चलिरहेको उहाँले बताउनुभयो । संकटकालीन अवस्थामा गरिने पुनस्र्थापनाका कामले प्रदेश सरकारलाई केही आर्थिक व्ययभार बढ्ने उहाँले बताउनुभयो ।

‘लामो समयदेखि रोकिएको सभा सञ्चालन गर्नु हाम्रो प्राथमिकता हो । तत्कालका लागि अस्थायी व्यवस्थापन गर्न लागेका छौं । जेन जी आन्दोलनको क्षतिका कारण केही समय व्यवस्थापमा लागिरेको छ’, उहाँले भन्नुभयो, ‘आन्दोलनको क्रममा सरकारी भवनहरुमा आगजनी र तोडफोडका कारण बैठक बस्ने स्थान समेत अभाव छ । बैठक संचालन र दैनिक कार्य सम्पादनका लागि सामान्य उपकरण र फर्निचर समेत छ । सोको व्यवस्थापनका लागि काम भइरहेको छ । तत्कालका लागि आवश्यक टेबल, कुर्सी र माइक प्रणाली जडान गर्न करिब १० लाखभन्दा कम लागत लाग्ने हाम्रो प्रारम्भिक अनुमान छ ।’

प्रदेश सभा बैठकको मुख्य एजेन्डामध्ये सभामुखको राजीनामाको विषय समेत रहेको छ । बैठकको अर्को प्रमुख एजेन्डा सभामुखको राजीनामा हुनेछ । मन्त्री तामाङका अनुुसार सभामुख भुवनकुमार पाठक पदबाट दिएको राजीनामा पत्रलाई पहिले सभामा औपचारिक जानकारी गराइनेछ । सभाले उक्त राजीनामा स्वीकृत गरेर पद रिक्त भएको घोषणा गरेपछि मात्र नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ । हालसम्म दलहरु बिच नयाँ सभामुख चयनका विषयमा कुनै छलफल प्रारम्भ नभएको उहाँले बताउनुभयो ।

गत भदौ २४ मा सभामुख भुवन कुमार पाठकले पदबाट राजीनामा घोषणा गरी असोज १ मा राजीनामा पत्र समेत पठाउनुभएको थियो । उक्त पत्र आगमाी बैठकमा पहिलो बैठकमा पढेर सुनाइने छ भने राजीनामा स्वीकृत भएसँगै नयाँ सभामुख चयनको प्रक्रिया अघि बढ्नेछ सचिव पौडेलले बताउनुभयो । ‘संविधानतः राजीनामा स्वीकृत भएको १५ दिनभित्र नयाँ सभामुखको निर्वाचन प्रक्रिया टुंग्याउनुपर्ने हुन्छ । कार्यव्यवस्था परामर्श समितिको बैठकले दलहरुसँगको छलफलपछि निर्वाचनको मिति तय गर्नेछ’, उहाँले भन्नुभयो ।

यसैबीच, प्रदेश सभा सचिवालयमा २ वटा नयाँ विधेयक दर्ता भएका छन् । खानेपानी तथा सरसफाइसम्बन्धी र प्रदेशको वित्तीय उत्तरदायित्वसम्बन्धी विधेयक बैठकमा पेस हुनेछन् । आगामी बैठकमा छलफलका आर्थिक उत्तरदायित्वसम्बन्धी विधेयक र खानेपानीसम्बन्धी विधेयक दर्ता भएको सो विधेयक अघि बढ्ने छ भने लामो समयदेखि रोकिएको चिठ्ठा विधेयकलाई पारित गर्ने विषय रहेको मन्त्री तामाङले बताउनुभयो । यसका साथै, प्रदेश मामिला समितिको यातायातसम्बन्धी प्रतिवेदन पनि बैठकमा पेस हुने तयारी रहेको उहाँको भनाई छ ।