बागमती प्रदेश सरकारले कोभिड–१९ सङ्क्रमितहरुका लागि विद्यालयमा बनाइएका आईसोलेसन तथा क्वारेन्टिनहरु स्थानान्तरण गर्ने भएको छ । सरकारी भवनको उपलव्धता नभएकाले सुरुमा सरकार तथा स्थानीय तहले संक्रमितहरुलाई राख्न र उपचारका लागि बनाइएका अस्थायी केन्द्रहरु स्थानान्तरण गर्ने भएको हो । विद्यालयमा शैक्षिक गतिविधि गर्न भन्दै सरकारले नै अन्यत्र व्यवस्थापन गर्न भनेपछि बागमती प्रदेश सरकारले आफू मातहतका जिल्लाका विद्यालयमा बनाइएका क्वारेन्टिन तथा आइसोलेसनहरु अन्यत्र सार्न लागेको छ । तर भौतिक पूर्वाधारको पर्याप्तताका आधारमा सवैभन्दा उपयुक्त स्थान अहिले पनि स्कुलनै देखिएका छन् । जिल्लाहरुमा सामुदायिक भवन वा अन्य संरचनाहरु नभएपछि विद्यालय नै उपयुक्त स्थान बनेको अवस्था छ ।
भदौ १ गतेदेखि शैक्षिक गतिविधि सन्चालन गर्ने भनेपछि विद्यालय खाली गर्ने सरकारले नीति लिए पनि पछिल्लो समय कोभिड–१९ सङ्क्रमितहरुको संख्या दैनिक बढ्दै गएकाले भदौ १५ गतेसम्मका लागि शैक्षिक गतिविधि रोकिएको छ । तर पनि विद्यालय भवनहरु खाली गर्न उपयुक्त हुने भएकाले स्थानीय तहहरुले आफ्नो क्षेत्रमा अन्य संरचनाहरुको पहिचान गर्न थालेका छन् । सुरुमा अस्पतालहरुमै क्वारेन्टिन र आइसोलेसन बनाइएको थियो । तर भारत र अन्य मुलुकबाट मानिसहरु आउन थालेपछि विद्यालयको उपयोग गरिएको हो । धारा, पानी र शौचालयको उचित व्यवस्थापनका कारण पनि विद्यालयहरु नै क्वारेन्टिनदेखि आइसोलेसनका लागि पनि उपयुक्त हुनु स्वभाविक हो । तर विद्यालयहरु खाली गर्नुपर्ने अवस्था हुन थालेपछि स्थानीय तहदेखि जिल्ला संकट व्यवस्थापन केन्द्रहरुलाई विद्यालयको विकल्पमा अन्य संरचना व्यवस्थापन गर्न निकै सकस भएको छ ।
बागमती प्रदेशको राजधानी हेटौंडामा पछिल्ला दिनमा बढ्दै गएको कोरोना संक्रमणले ठूलो जोखिमको सङ्केत गरेको छ । हेटौंडामा सञ्चालन भएको एउटा आइसोलेसन भरिएपछि विरामीहरु घरमै बस्न बाध्य भएका छन् । लामो समयसम्म पनि तयारी नगर्दा पछिल्लो समयमा अत्यास देखिँदै गएको छ । विरामीहरुलाई घरै बस्न भनेर गौरिटारको खेलाडी छात्रावासलाई आइसोलेसन वार्डको रुपमा विकास गर्ने तयारी थालिएको छ । तर यही तयारी दुई महिना पहिला नै किन नगरिएको भन्ने प्रश्न उठेको छ । राष्ट्रिय खेलकुद परिषद्ले निर्माण गरेको खेलाडी छात्रावास पहिलादेखि नै खाली थियो । सुरुदेखि नै त्यहीँ आइसोलेसन बनाउने चर्चा पनि गरिएको हो । तर विरामीहरु कर्राको आइसोलेसनमा नअटेपछि मात्र तयारी गर्नुले प्रदेश सरकारदेखि स्थानीय सरकारको दुरदर्शितामा प्रश्न उठेको छ ।
दैनिक विरामी थपिएपछि जिल्ला संकट व्यवस्थापन समिति तथा हेटौंडा उपमहानगरपालिकाले केन्द्रिय खेलकुद प्रतिष्ठानको खेलाडी छात्रावासलाई प्रयोग गर्ने तयारी गरेका छन् । छात्रावासमा बढीमा डेढ सय विरामी व्यवस्थापन हुन सक्छन् । सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको टीमका लागि पनि व्यवस्था गर्दा सो छात्रावास पनि अपुग हुन सक्ने छ । त्यसैले सोही प्रतिष्ठानमा निर्माण हुँदै गरेका दुईवटा कभर्डहल व्यवस्थापन गर्नु आवश्यक छ । कभर्डहल समेतको उपयोग गर्दा बल्ल गौरिटारमा दुईसय विरामी र उनीहरुका लागि अवाश्यक पर्ने जनशक्ति र भान्छा व्यवस्था हुन सक्ने देखिन्छ । वातावरणीयदेखि वस्ती भन्दा अलग रहेको गौरिटारलाई सुरुदेखि नै प्रयोग गर्नुपर्ने थियो । कर्रा आईसोलेसन सन्चालन भएपछि आजसम्मको बाँकी समय गौरिटारमा आवश्यक पूर्वाधार थप गर्ने समेत समय पर्याप्त थियो । तर कसैले ध्यान नदिँदा आज विरामीहरु घरमै बस्न बाध्य छन् ।