हेटौँडा : बागमती प्रदेशको २ जिल्लामा विभिन्न घटनामा एकैदिन ३ जनाको मृत्यु भएको छ । शुक्रबार प्रदेशको चितवन र दोलखा जिल्लामा ३ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
चितवनको भरतपुर महानगरपालिका–११, निलगिरी टोलमा नालीमा लडेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५१ वर्षीय लक्ष्मी प्रसाद अधिकारी रहेको प्रहरीले जानकारी दिएको छ । मंगलबार दिउँसो १२ बजेको समयमा अधिकारी आफ्नै घर नजिकै रहेको नालीमा लडीरहेको अवस्थामा फेला परेका थिए । अभिकारीलाई उपचारका लागि चितवनस्थित भरतपुर सरकारी अस्पताल लगिएकोमा उपचारका क्रममा १२ बजेर २० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका–६, नाम्सी पुलमा सडक माथिबाट ढुङ्गा खसेर बसमा लाग्दा एक जना यात्रुको मृत्यु भएको छ । मंगलबार बेलुका ७ बजेको समयमा मुग्लिङ–नारायणगढ सडकखण्डमा तनहुँबाट नारायणगढतर्फ जाँदै गरेको ग २ ख १८३६ नम्बरको बसमा ढुङ्गा खसेर लाग्दा बसमा सवार लमजुङ जिल्लाको घले गाउँपालिका–३, की ४६ वर्षीया ऐश्वर्या कामी घाइते भएको प्रहरीले जानकारी दिएको छ । घाइते ऐश्वर्यालाई उपचारका लागि चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएको थियो । उपचारको क्रममा बेलुका ७ बजेर २० मिनेटको समयमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जानकारी दिएको छ । बस चालक तनहुँ जिल्लाको म्याग्दे गाउँपालिका–२, बस्ने ३५ वर्षीय तेज कुमार शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दोलखाको बिगु गाउँपालिका–६, शेर्पा आलम्पुमा ट्याक्टर आफै अनियन्त्रित भई सडकबाट १५ मिटर तल खस्दा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ भने ३ जना घाइते भएका छन् । मंगलबार बिहान ११ बजेको समयमा भित्री कच्ची सडकखण्डमा आलम्पुबाट ढुंगाखानीतर्फ जाँदै गरेको प्रदेश १–०१००१ त ८८७२ नम्बरको खाली ट्याक्टर आफैँ अनियन्त्रित भइ सडकबाट खस्दा आलम्पुका ५५ वर्षीय मकर थामीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ३५ वर्षीय कुबेर थामी, ५७ वर्षीय पल बहादुर थामी र १५ वर्षीय आशिष थामी घाइते भएका छन् । मकरको घटनास्थलमै मृत्यु भएको थियो । घाइते कुबेर र आशिषको धुलिखेल शाखा अस्पताल भिमेश्वर दोलखामा सामान्य उपचार पश्चात डिस्चार्ज भएको छ भने पल बहादुरको उपचार भई रहेको छ । चालक फरार रहेकोले खोजतलास भई रहेको प्रहरीले जानकारी दिएको छ ।











